‘परिवर्तन’को अग्रिम बुकिङ खुला
काठमाडौं : माघ ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रतीक्षित एक्सन फिल्म ‘परिवर्तन’को देशभरका हलहरूमा अग्रिम बुकिङ खुला गरिएको छ। प्रदर्शनको सङ्घारमा रहेको फिल्मले पहिलो दिनमै उत्साहजनक शो सङ्ख्या पाएको छ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं र उपत्यकाबाहिर गरी कुल ३२ शो उपलब्ध गराएको छ। त्यस्तै, आईएनआई सिनेमाले १५, वान सिनेमाले ९, एफक्यूबले ४ र विग मुभिजले ३ शो प्रदान गरेका छन्। यो समाचार तयार पार्दासम्म फिल्मले देशभरका हलहरूबाट १०० भन्दा बढी शो प्राप्त गरिसकेको छ भने केही हलहरूमा बुकिङ खुल्ने क्रम जारी छ।
सुशील श्रेष्ठ र अञ्जना बराइलीको मुख्य भूमिका रहेको यस फिल्मको ट्रेलर र ‘पाकेको चिउरी’ बोलको गीत यति बेला चर्चामा छ। ट्रेलरलाई छोटो समयमै ११ लाखभन्दा बढी पटक हेरिएको छ, जसले गर्दा हलमा दर्शकको उपस्थिति बलियो हुने अपेक्षा गरिएको छ।
दिब्यासी फिल्म्सको ब्यानरमा दीपक सिवाकोटीले निर्माण भएको फिल्ममा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको सशक्त अभिनय रहेको छ। फिल्मको कथा निर्माता सिवाकोटीकै हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन्।
एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्म ‘एक्सन-सस्पेन्स’ जनरामा बनेको छ।
माघ ८, २०८२ बिहीबार १४:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।