पश्चिम नवलपरासीमा कांग्रेस एकताबद्ध : चौधरीको चुनावी अभियान तीव्र
परासी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पश्चिम नवलपरासीमा नेपाली कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको छ। विगतमा यहाँ आन्तरिक विवाद र गुटबन्दीका कारण कांग्रेस चर्चामा रहने गर्थ्यो।
पश्चिम नवलपरासी- १ बाट कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। पार्टीभित्रको आन्तरिक समीकरणमा आएको परिवर्तनसँगै जिल्लाका सबै तहका नेता-कार्यकर्ता उनको साथमा उभिए।
पार्टीभित्र फरक मत राख्दै आएका तत्कालीन लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै कांग्रेसभित्रको असमझदारी अन्त्य भयो। खनालको बहिर्गमनपछि पार्टी संगठन थप संगठित भएको र चुनावी गतिविधि सशक्त बनेको कांग्रेसको दाबी छ।
पार्टी एकताका बारेमा प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले भने, “पार्टी एक ढिक्का भएर अघि बढ्नु जिल्लाका लागि सकारात्मक र सुखद सन्देश हो। कांग्रेसको यो एकताले चुनावी परिणाम मात्र होइन, जिल्लाको समग्र विकास प्रक्रियालाई समेत गति दिनेछ।”
त्यसैगरी, कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्यले वडादेखि प्रदेश तहसम्मका सबै नेता-कार्यकर्ता एउटै उद्देश्यका साथ मैदानमा उत्रिएको दाबी गरे। पार्टी एकताबद्ध भएको अवस्थामा कांग्रेस उम्मेदवारलाई पराजित गर्न कसैले नसक्ने उनको दाबी छ।
चुनावी अभियानकै क्रममा उम्मेदवार विनोद चौधरीले जिल्लाका केन्द्रीय सदस्यहरू, पूर्वसांसद, पार्टीका स्थानीय नेता तथा वडा तहका कार्यकर्ताहरूसँग भेटघाट र छलफल गरे। उनले पार्टीको वर्तमान एकताप्रति उत्साह व्यक्त गरे। उनले भने, “अघिल्लो चुनावमा जिल्लाभित्रकै केही नेताको असहयोगका बाबजुद पनि नतिजा हाम्रो पक्षमा आयो। यस पटक त पार्टी पूर्ण रूपमा एकताबद्ध छ, सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुपर्छ।”
चौधरीले कसैलाई ‘काखा र कसैलाई पाखा’ नगरी सबैसँग हातेमालो गर्दै जिल्लाको विकासमा केन्द्रित हुने प्रतिबद्धता समेत व्यक्त गरे। उम्मेदवार चौधरीलाई सहयोग गर्न केन्द्रीय सदस्य, बुद्धिजीवी र आम कार्यकर्ताहरू परिचालन गरिएको छ। विगतको तुलनामा सुधारिएको आन्तरिक एकताले जिल्लाको चुनावी माहोललाई थप सकारात्मक बनाएको कांग्रेसको ठहर छ।
माघ ८, २०८२ बिहीबार १३:४२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।