बाजुराका उम्मेदवारको सामूहिक अठोट : 'यस पटक चुनावमा धाँधली र हिंसा हुने छैन'

बाजुराका उम्मेदवारको सामूहिक अठोट : 'यस पटक चुनावमा धाँधली र हिंसा हुने छैन'

बाजुरा : विगतका निर्वाचनमा हिंसा, झडप र बुथ कब्जाका घटना झेल्दै आएको बाजुरामा यस पटक उम्मेदवारहरूले नयाँ राजनीतिक संस्कारको सुरुवात गरे।

चुनावी प्रतिशोध र सामाजिक तनावको इतिहासलाई चिर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका आठै जनाले बिहीबार सामूहिक रूपमा शान्तिपूर्ण निर्वाचनको लिखित प्रतिबद्धता जनाए।

सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवारहरूले विगतका जस्ता अप्रिय घटना दोहोरिन नदिने र मतदातालाई भयरहित वातावरणमा मतदान गर्न दिने सामूहिक अठोट गरे। बाजुराको चुनावी इतिहासमा उम्मेदवारहरूले यसरी सार्वजनिक रूपमा संयुक्त प्रतिबद्धता पत्र जारी गरेको यो पहिलो पटक हो।

जारी सात बुँदे प्रतिबद्धता पत्रमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने, स्वस्थ र मर्यादित प्रतिस्पर्धा गर्ने तथा चुनावी प्रचारका क्रममा हुन सक्ने कुनै पनि प्रकारको धाँधली र घुसपैठलाई संयुक्त रूपमा अस्वीकार गर्ने उल्लेख छ। उम्मेदवारहरूले निर्वाचनका क्रममा कुनै विवाद उत्पन्न भएमा त्यसलाई आपसी संवादमार्फत समाधान गर्ने र चुनावी प्रक्रियालाई भयरहित बनाउने संकल्प गरे।

साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेहरूमा नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा छन्। त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपक डिसी, नेकपा (माओवादी) का भूपेन्द्र विक र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले पनि यस अभियानमा ऐक्यबद्धता जनाए।

चुनावको समयमा प्रायः आरोप-प्रत्यारोप र आपसी टकराब देखिने बाजुरामा यस पटक उम्मेदवारहरू एकै ठाउँमा उभिनुलाई जिल्लाको राजनीतिक वृत्तमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। उम्मेदवारहरूले यो प्रतिबद्धता समग्र जिल्लाको हित र राजनीतिक सुधारका लागि 'असल अभ्यास' भएको बताएका छन्। उम्मेदवारहरूले प्रतिबद्धता केवल औपचारिकतामा मात्र सीमित नगरी व्यवहारमा पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए।

माघ ८, २०८२ बिहीबार १३:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।