नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
काठमाडौं : आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्ससँग २ रनको अन्तरले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेको अवस्थामा नेपालले १० रन मात्र जोड्न सफल भयो। नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले अविजित ३७ रन र सीता राना मगरले अविजित २७ रनको योगदान दिइन्। अन्य ब्याटरहरूमा विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन जोडे। नेदरल्यान्ड्सको बलिङमा इसाबेल भान डेर वोनिङले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रनको योगफल तयार पारेको थियो। उसका लागि कप्तान बाबेट डे लीडेले ४९ रन र स्टेरी किल्सले ३० रन बनाइन्। नेपालका तर्फबाट रुविना क्षेत्रीले २ विकेट लिइन् भने सोमु विष्ट, पूजा महतो र रिया शर्माले १-१ विकेट हात पारे।
प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक पराजित भएको छ। यसअघि पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। अर्कोतर्फ, नेदरल्यान्ड्सले भने प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ।
माघ ८, २०८२ बिहीबार १३:००:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।