कुलमानलाई दोस्रो झड्का, थेगिमसहितका पहिचानवादी नेताले पार्टी त्यागे
काठमाडौं : प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएर दलहरू प्रचारको रणनीतिमा सक्रिय भएको बेला उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई झड्कादिँदै पहिचानवादी नेता एवं पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमसहितले पार्टी छाडेका छन्। बिहीबार डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले विज्ञप्ति निकालेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन्।
संयुक्त विज्ञप्तिमा पहिचान सम्बन्धी आन्दोलन संस्थागत गर्न आफूहरू उज्यालो नेपाल पार्टीमा सहभागी भएको तर पार्टीमा आन्तरिक लोकतन्त्रको कमजोरी, विधि र प्रक्रियाको अस्पष्टता पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन्। विज्ञप्तिमा कुनै आरोप प्रत्यारोप नगरी नैतिकताको आधारमा अलग भएको भन्दै उनीहरूले संयुक्त पहिचानवादी मोर्चा सक्रिय गराउने उल्लेख गरेका छन्।
उनीहरूले फागुन २१ को निर्वाचनमा दलहरूको घोषणापत्रमा अनिवार्यरुपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने, स्वतन्त्र रूपमा ‘नो कोशी’, ‘नो केबलकार’ अभियान अनुसार मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक-सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने उल्लेख गरेका छन्।
उनीहरूले यी विषय उम्मेदवारको घोषणा पत्रमा समावेश गराउन दबाब बढाउने र फागुन २१ मा ‘नो भोट’ सम्बन्धी अभियान चलाउने उल्लेख गरेका छन्।
कुलमानलाई दोस्रो झड्का
जेनजी आन्दोलनको बलमा बलियो राजनीतिक शक्ती बन्ने अभियानमा लागेका कुलमानलाई लागेको यो दोस्रो झड्का हो। यस अगाडि पार्टी विस्तारमा लाग्दालाग्दै रास्वपाको उपसभापति हुनेगरि गरेको सहमती भंगहुँदा पहिलो झड्का लागेको थियो।
एकता भंग भएर कुलमान त फर्किए तर केही प्रभावशाली नेताहरु रास्वपामै बसे। आफ्नो पार्टीले रफ्तार लिइरहेको बेलामा सहमतीको बहानामा अलमल्याएको भन्दै उनले रास्वपाले राजनीतिक अपराध गरेको आरोप लगाउने गरेका छन्। थेगिमले पार्टी छाड्दा दोस्रो झड्का लागेको छ।
थेगिम इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर उल्लेख्य मत ल्याएका थिए। कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गरेपछि केन्द्रीय सदस्य बनेका उनी कुलमानले सल्लाह नगरी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेपछि असन्तुष्ट थिए। कुलमान र रास्वपाबीच भएको सहमति तोडिएपछि उनले पुन उज्यालो नेपाललाई सक्रिय गराएर समानुपातिक सूची अर्को दलबाट राखेर प्रत्यक्षमा उम्मेदवारहरू उठाइरहेका छन्।
तर समानुपातिकको बन्दसूचीमा रहेका थेगिमसहितको पहिचानवादी नेताहरू अलग हुँदा त्यसले पूर्वको इलामलगायतका क्षेत्रमा समानुपातिक र प्रत्यक्ष दुबैतिर पार्टीलाई प्रभाव पर्ने छ।
माघ ८, २०८२ बिहीबार १०:५६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।