मौसमसम्बन्धी विशेष बुलेटिन जारी : शुक्रबार दिउँसोदेखि मौसम बदलिने, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले भोलि शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्मका लागि मौसमसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार देशका पश्चिमी र मध्य भागमा पश्चिमी वायुको प्रभाव देखिने भएको छ, जसका कारण विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात हुने प्रक्षेपण गरिएको छ।
लुम्बिनी प्रदेशका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
कोशी प्रदेशमा भने प्रभाव कम देखिन्छ, जहाँ उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुनसक्नेछ।
मधेस प्रदेशमा भने वर्षाको कुनै सम्भावना नरहेको र मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
विभागले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भागलाई मौसमको नक्सामा पहेँलो रङले सङ्केत गरेको छ।
यसको अर्थ मौसमसम्बन्धी अद्यावधिक रहन र चिसो तथा वर्षाबाट बच्न आवश्यक तयारी गर्न सुझाइएको छ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने तथा पर्वतीय क्षेत्रको जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
माघ ८, २०८२ बिहीबार १०:३४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।