ट्रम्पको धम्कीपछि युरोपेली संसदद्वारा अमेरिकासँगको व्यापार सम्झौता स्थगित
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड प्राप्त गर्ने माग राखेको र यसको विरोध गर्ने युरोपेली देशहरूमाथि भन्सार कर लगाउने धम्की दिएपछि विवाद बढेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, युरोपेली संसदले बुधबार अमेरिकासँगको व्यापार सम्झौता प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
युरोपेली संसदमा अमेरिकासँग हुने व्यापारमा कर हटाउने प्रस्तावमाथि छलफल भइरहेको थियो। यो सम्झौता जुलाईको अन्त्यमा स्कटल्याण्डको टर्नबेरीमा भएको थियो।
यस सम्झौताअनुसार अमेरिकी सामानमा आयात शुल्क कम गर्ने र अमेरिकी ‘लवस्टर’ (एक प्रकारको समुद्री खाना) मा शून्य भन्सार शुल्क कायम राख्ने प्रस्ताव थियो, जसमा पहिलो पटक सन् २०२० मा सहमति जुटेको थियो। यी प्रस्तावहरूलाई युरोपेली संसद र युरोपेली संघका सरकारहरूले अनुमोदन गर्नुपर्ने थियो।
युरोपेली संसदको व्यापार समितिले जनवरी २६ र २७ मा मतदानमार्फत यस विषयमा निर्णय लिने कार्यक्रम थियो, तर अब यसलाई स्थगित गरिएको छ।
समितिका अध्यक्ष बर्न लांगेले बुधबार पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाको नयाँ करको धम्कीले टर्नबेरी सम्झौता उल्लङ्घन गरेको बताए। उनले अर्को आदेश नभएसम्मका लागि यो प्रक्रिया रोकिएको जानकारी दिए।
माघ ८, २०८२ बिहीबार ०८:०२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।