पहिलो टी-२० : न्युजिल्यान्डमाथि भारतको ४८ रनको जित, अभिषेक शर्माको विष्फोटक ब्याटिङ

पहिलो टी-२० : न्युजिल्यान्डमाथि भारतको ४८ रनको जित, अभिषेक शर्माको विष्फोटक ब्याटिङ

एजेन्सी : भारतले पहिलो टी-२० खेलमा न्युजिल्यान्डलाई ४८ रनले पराजित गरेको छ। ३५ बलमा ८३ रनको उत्कृष्ट पारी खेल्ने अभिषेक शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भए।

यो जितसँगै पाँच खेलको टी-२० शृङ्खलामा भारतले १-० को अग्रता लिएको छ। नागपुरको विदर्भ क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २३८ रनको विशाल योगफल खडा गर्यो। भारतका लागि अभिषेक शर्मा र रिंकु सिंहले महत्त्वपूर्ण योगदान दिए।

रिंकु सिंहले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै २० बलमा ४४ रन बनाए। यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ र हार्दिक पाण्ड्याले २५ रनको योगदान दिए।

२३९ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्यान्डको टोलीले ७ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो।

सुरुवाती झट्कापछि न्युजिल्यान्डका ग्लेन फिलिप्स र मार्क च्यापम्यानको जोडीले भारतलाई चुनौती दिने प्रयास गरे पनि टोलीलाई जितको नजिक पुर्याउन सकेनन्।

फिलिप्सले ७८ र च्यापम्यानले ३९ रन बनाए। अन्य खेलाडीमा ड्यारेल मिचेलले २८, टिम रबिन्सनले २१ र कप्तान मिचेल स्यान्टनरले २० रन जोडे।

बलिङतर्फ भारतका वरुण चक्रवर्ती र शिवम दुबेले दुई-दुई विकेट लिए भने हार्दिक पाण्ड्या, अर्शदीप सिंह र अक्षर पटेलले एक-एक विकेट हात पारे।

माघ ८, २०८२ बिहीबार ०७:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।