देशैभरि स्वतन्त्र उम्मेदवारको लर्को : दलसँग रिसाएकादेखि लौरो अभियानकर्मीसम्म मैदानमा

देशैभरि स्वतन्त्र उम्मेदवारको लर्को : दलसँग रिसाएकादेखि लौरो अभियानकर्मीसम्म मैदानमा

काठमाडौं : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि देशभरबाट प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रभावशाली नेताहरूलाई चुनावी मैदानमा उतारे पनि उनीहरूलाई चुनौती दिन स्वतन्त्र उम्मेदवारहरूको  लहर देखिएको छ।

विशेष गरी झापा, दोलखा, धनुषा र महोत्तरी जस्ता जिल्लाहरूमा स्वतन्त्र उम्मेदवारहरूको संख्या उच्च देखिन्छ।

एमाले अध्यक्ष केपी ओली अनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीले राष्ट्रिय चासोको केन्द्र बनेको झापा क्षेत्र नम्बर ५ मा यी दुवै उम्मेदवारसँग प्रतिस्पर्धा गर्न ७ जनाभन्दा बढी स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

त्यसमा यस अगाडि बालेन्द्रलाई मेयरमा जिताउन लौरो अभियान चलाएका डम्बर साहुसमेत छन्।

धार्मिक गुरु दाबी गर्ने ३० वर्षका पुष्कर खतिवडा समेत उम्मेदवार बनेका छन्। अन्य स्वतन्त्रहरूमा मातृका भट्टराई, खेमनाथ सिवाकोटी, शोभा भण्डारी, प्रकाश नेपाल र अर्जुन सापकोटा जस्ता नामहरू रहेका छन्।

क्षेत्र नम्बर-१ मा दुर्गा प्रसाद साँवा लिम्बु र गणेश कुमार खरेल, क्षेत्र नम्बर-२ मा युवराज सङ्ग्रौला, पुण्य प्रसाद आचार्य, रमेश कुमार कार्की स्वतन्त्र उम्मेदवार बनेका छन्।  क्षेत्र नम्बर-३ मा अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला तथा क्षेत्र नम्बर-४ मा साजन माझी स्वतन्त्र उम्मेदवार बनेका छन्।

दोलखामा ७६ वर्षीय वृद्धको जोस
दोलखा-१ मा मात्रै १९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। त्यसमा दोलखामा ७६ वर्षका पूर्ण बहादुर सिवाकोटीले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई चुनौती दिने अन्य स्वतन्त्रहरूमा २५ वर्षका महेन्द्र खड्कादेखि संगीता श्रेष्ठ, लुका दोर्जे शेर्पा, सुरेश उप्रेती र सुमन थापा समेत छन्।

स्वतन्त्र उम्मेदवार बन्ने युवाहरूको संख्या पनि कम छैन। मोरङ ३ मा २६ वर्षीया कन्चन न्यौपाने र मकवानपुर २ मा २५ वर्षीय प्रशान्त उप्रेती जस्ता युवाहरूले पुराना नेताहरूलाई टक्कर दिन उम्मेदवारी दिएका छन्।

मधेसमा स्वतन्त्रको लर्को
मधेसका अधिकांश निर्वाचन क्षेत्रमा दलगत भन्दा स्वतन्त्र उम्मेदवारहरूको संख्या दोब्बर छ। स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा धेरै धनुषामा देखिन्छ।

धनुषाको क्षेत्र नम्बर १ मा २९ जना स्वतन्त्र उम्मेदवार छन्। धनुषा २ मा २४ जना छन्। धनुषा ३ मा स्वतन्त्र मात्रै ३० जना छन्।  धनुषा ४ मा २४ जना स्वतन्त्र उम्मेदवार छन्। महोत्तरीमा मात्र १९ जना स्वतन्त्र छन्। मोरङको चार क्षेत्रमा १७ जना स्वतन्त्र उम्मेदवार छन्।

पहाडी जिल्लामा पनि स्वतन्त्र उम्मेदवारी परेका छन्। तर, संख्या कम छ। धनकुटा १ मा  ४ जना स्वतन्त्र उम्मेदवार बनेका छन्।

अर्घाखाँची १ मा ३ जना, इलाम २ मा डाक प्रसाद गौतम, सङ्खुवासभा १ जना वासुदेव दाहाल, ललितपुर १ मा राजा कृष्ण बस्नेत, सरोज कुमार विष्ट, सीमा बुढाथोकी र देवेन्द्र सिंह, काभ्रेपलान्चोक  १ मा वीरेन्द्र लामा र राजेश कुमार श्रेष्ठ र  पाल्पा २ मा देवी प्रसाद भण्डारी स्वतन्त्र उम्मेदवार बनेका छन्। मकवानपुर १ मा १० जना स्वतन्त्र उम्मेदवारहरू छन्।

दलका पनि स्वतन्त्र
दलमा संलग्न नभएका मात्र हैन दलमा रहेर टिकट नपाएका पनि स्वतन्त्र उम्मेदवार बनेका छन्।

दाङ १ बाट एकीकृत समाजवादीका मेटमणि चौधरीलाई टिकट दिएपछि पूर्वमाओवादी नेता एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराए। सिन्धुली २ मा महेश्वर दाहाल स्वतन्त्र उम्मेदवार बनेका छन्।

कालिकोटमा जीवन बुढा स्वतन्त्र उम्मेदवार बने। उनी पनि नेकपाकै हुन्। उदयपुर-२ मा मेजरकुमार राईले स्वतन्त्र उम्मेदवारी दिए। ओखलढुङ्गामा सन्तबहादुर तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

माघ ८, २०८२ बिहीबार ०७:४८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।