मिसन पुस्तान्तरण- १ : इलामको 'रेड जोन' मा कांग्रेसका युवा कमान्डर
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो। हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरु भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब कसरी रोकिन्छ र भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनीका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरु गरेको छ।
OOO
काठमाडौं : पुस्तान्तरण, सुशासन अनि भ्रष्टाचार नियन्त्रणको मागसहित सुरु भएको जेनजी आन्दोलनले राष्ट्रिय राजनीतिमा जति प्रभाव पार्यो दल पनि त्यसबाट अलग रहन सकेन। केही दल यथास्थितिमै रहन रुचाए। तर केहीमा भने जवर्जस्त परिवर्तन ल्यायो यो विद्रोहले। त्यसको सबैभन्दा ठूलो प्रभाव पर्यो नेपाली कांग्रेसमा।
जेनजी आन्दोलनसँगै पार्टीको नेतृत्व परिवर्तनबारे पार्टीभित्र सुरु भएको बहस पुराना पुस्ताका नेताले छल्न अनेक बहाना गरे। तर महाधिवेशन प्रतिनिधीहरुको जबर्जस्त हस्तक्षेपले दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण गर्यो।
त्यसको प्रभाव प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा पनि देखियो। फागुन २१ को निर्वाचनमा प्रमुख शहरी क्षेत्रहरूमा पार्टीले ४० मुनीका युवाहरूलाई मत परीक्षणको मैदानमा पठाएको छ। त्यहीमध्येका एक हुन् इलाम क्षेत्र नम्बर १ का ३५ वर्षे युवा निष्कल राई।
राजनीतिक रूपमा क्रान्तिको बिगुल फुकेको क्षेत्र इलाम कम्युनिस्ट उर्वर भूमिका रूपमा परिचित भए पनि प्रजातान्त्रिक दल कांग्रेसका कुल बहादुर गुरुङ (केबी गुरुङ) उदाएको जिल्ला पनि हो।
कांग्रेसको महामन्त्रीसम्म भएका उनी २००७ सालदेखि राजनीतिमा संलग्न थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर तीनबाट संविधान सभा सदस्य निर्वाचित भएका उनी निष्ठा पूर्वक राजनीतिमा सक्रिय रहे। त्यही क्षेत्रमा कांग्रेसले यस पटक ३५ वर्षका युवालाई अगाडि सारेको छ।
राजनीतिक यात्रा
सूर्योदय नगरपालिका वडा नम्बर ४ का निस्कल २०४७ फागुन ७ का हुन्। अर्थशास्त्रमा एमफिल गर्दै गरेका उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन्।
कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा लागेका राई संघको इलाम जिल्ला सदस्य भएर राजनीतिमा सक्रिय भए। नेविसंघको महाधिवेशन प्रतिनिधिहुँदै उनी उच्च शिक्षाका लागि इलामबाट काठमाडौं आएर शंकरदेवमा भर्ना भए। शंकरदेवमा उनी स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिसम्म भए।
क्याम्पसको पढाई सकिएपछि उनी इलाम फर्किएर राजनीतिमा सक्रिय भए। उनी १२ औँ महाधिवेशनमा पार्टीको क्षेत्रीय प्रतिनिधि हुँदै इलाम क्षेत्रीय कार्यसमिति सह सचिव, सचिव हुँदै अहिले इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति छन्।
राई जेनजी आन्दोलनपछि युवाको माग अनुसार कांग्रेसको नेतृत्व परिवर्तनको अजेण्डामा सक्रिय थिए। उनी काठमाडौँ आएर लोकतान्त्रिक विधिबाट दलको नेतृत्व गरेर जिल्ला फर्किए। दलभित्र सुरु भएको पुस्तान्तरणलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले उनलाई ३५ वर्षकै उमेरमा प्रतिनिधि सभाको उम्मेदवार बनायो।
एन्टी ड्रग्स अभियान
२०७९ साल देखि ८० साल उनी ‘हामी स्वयंसेवक अभियान’को कार्यकारी निर्देशक रहेर काम गरेका उनी स्थानीय तहमै बसेर नशा निरोधमा सक्रिय भए। उनी विद्यालय-आधारित पाठ्यक्रम र जागरूकता सामग्री विकास,स्थानीय निकाय र सार्वजनिक निकायसँग नशा विरोधी अभियानमा समन्वय, नशा दुरुपयोग, आपत्काल जोखिम न्यूनीकरण र नैतिक शिक्षामा प्रशिक्षण कार्यशाला लगायतमा सक्रिय थिए। यो कार्यक्रम आन्तरिक मामिला र कानून मन्त्रालय, कोशी प्रदेशले गरेको थियो।
“अहिले युवाहरूमा लागू पदार्थ प्रयोग अत्याधिक बढेको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो दस्तावेजमा पनि यसको निरोधका लागि कार्यक्रम गर्नु पर्ने प्रस्ताव राख्नु भएको थियो,” उनले भने, “समुदाय स्तरबाटै निरोधको कार्यक्रम हुनुपर्छ भनेर हामीले यहाँ सञ्चालन गरेका हौँ।”
किन उम्मेदवारी ? उनले संविधान बचाउन र युवाहरूको वास्तविक समस्या सदनमा राखेर ऐन नियम बनाउन उम्मेदवार भएको बताए ।
“मैले शिक्षा र कुलतमा युवालाई कसरी फस्नै नदिने भनेर काम गर्दै आइरहेको छु,” उनले भने, “अझ यसलाई नीतिगत तहमा पुराउन चाहन्छु मलाई विश्वास छ इलामका नागरिकहरूले मलाई जिताउँछन्।”
बा पुस्ताका प्रतिस्पर्धी
२०७९ को निर्वाचनमा इलाम १ मा कांग्रेसको उम्मेदवार नै थिएनन्। एकीकृत समाजवादीकोतर्फबाट झलनाथ खनाल उम्मेदवार थिए।निर्वाचनमा एमाले उम्मेदवार महेश बस्नेतले जितेका थिए। यस पटक इलाम-१ मा १३ जना उम्मेदवार छन्। एमालेबाट काजीमान कागते, नेकपाबाट रणबहादुर राई र रास्वपाबाट विमल गदाल छन्। यी सबै निस्कलको बा पुस्ताका हुन्।
अर्थशास्त्रमा प्राज्ञिक दख्खल राख्ने र सामाजिक रूपमा लागू औषध विरुद्धको अभियानमा सक्रिय निस्कलका लागि यो निर्वाचन अग्निपरीक्षा हो। उनीसामु एकातिर कम्युनिष्टहरूको बलियो प्रभाव रहेको इलामको पार्टीको विरासत जोगाउने चुनौती छ भने अर्कोतिर युवाहरूले राजनीतिमा खोजेको "नयाँपन" र "सुशासन"को डेलिभरी दिनुपर्ने जिम्मेवारी।
परिक्षाको मिती हो २०८२, फागुन २१।
माघ ७, २०८२ बुधबार १९:४२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।