निर्वाचन २०८२ उम्मेदवारीको दृश्य : महिलालाई समानुपातिक, पुरुषलाई प्रत्यक्ष !

निर्वाचन २०८२ उम्मेदवारीको दृश्य : महिलालाई समानुपातिक, पुरुषलाई प्रत्यक्ष !

काठमाडौँ : नेपालको संविधानले प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिला सांसद हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ। दलहरूले यो संवैधानिक बाध्यता त पुरा गर्छन्, तर प्राय: समानुपातिक निर्वाचन प्रणालीको सहारामा।

प्रत्यक्षबाटै महिलाको प्रतिनिधित्व गराउनुपर्ने प्रस्ट संवैधानिक बाध्यता छैन। त्यसैले दलहरू यसैको लाभ लिँदै प्रत्यक्षतर्फ महिलालाई कमै टिकट दिन्छन्।

यसले हरेक संसदीय निर्वाचनमा महिलाका लागि समानुपातिक र पुरुषका लागि प्रत्यक्ष भन्ने नकारात्मक भाष्य निर्माण भएको छ। जेनजी आन्दोलनको बलमा फागुन २१ मा हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको दृश्य पनि यो भन्दा फरक देखिएन।

मंगलबार दर्ता भएको उम्मेदवारहरूमध्ये मुख्य दलको सूची हेर्दा महिलाको उपस्थिति न्यूनै देखिन्छ। सङ्ख्याका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिन्छ भने एमाले सबैभन्दा कम महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउने पार्टीमा देखियो।

महिला सहभागिता केवल ११ प्रतिशत

निर्वाचन आयोगले मंगलबार बेलुका सार्वजनिक गरेको १ सय ६५ निर्वाचन क्षेत्रमा परेको उम्मेदवारको संख्या ३ हजार ४ सय ८४ छ। यसमा महिला उम्मेदवारको संख्या ३ सय ९५ (११.३४%) मात्र छ।

आयोगको विवरण अनुसार विभिन्न राजनीतिक दलबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गर्दा महिलाको संख्या २ सय ३५ जना मात्र छन्। १ हजार १ सय ८७ स्वतन्त्र उम्मेदवारमध्ये १ सय ६० जना महिला छन्।

कुन दलबाट कति महिला?

नयाँ दलहरूले पुरानाको तुलनामा महिलालाई प्राथमिकता दिएको देखिन्छ। तर पूर्ण भने देखिँदैन। पुराना दलले आफ्नो प्रवृत्ति सुधारेको देखिएन।

मंगलबार उम्मेदवार दर्ता भएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट १ सय ६५ मध्ये १६ उम्मेदवार महिला छन्। संख्या १६ भए पनि कुल प्रतिशत हेर्ने हो भने उत्साहजनक भने देखिँदैन। यो कुल ९.७ प्रतिशत मात्रै हो।

रास्वपाले सोबिता गौतम (चितवन-३), निशा डाँगी (झापा-१), इन्दिरा रानामगर (झापा-२), रञ्जु दर्शना (काठमाडौँ-१), डा. तोसिमा कार्की (ललितपुर-३), सरिन तामाङ (सुनसरी–१), आशा झा (मोरङ–५), रुविना आचार्य (मोरङ ६)  र विनीता कठायत (जुम्ला) लगायतलाई प्रत्यक्षमा उम्मेदवार बनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले १ सय ६५ जनामध्ये ११ जना महिला उम्मेदवार बनाएको छ। यो करिब ६.६६ प्रतिशत हो। नेकपाबाट बिना मगर (कञ्चनपुर-१), रेणु दाहाल (चितवन-३), यशोदा सुवेदी (मनाङ), र धर्मशीला चापागाईँ (झापा-२) लगायतका उम्मेदवार बनेका छन्।

कांग्रेसले पनि ११ जना महिलालाई प्रत्यक्षतर्फ प्रतिस्पर्धा गराउँदै छ। यो कुल १६५ क्षेत्रको करिब ६.६६ प्रतिशत मात्र हो। कांग्रेसबाट महालक्ष्मी उपाध्याय 'डिना' (मकवानपुर-२), नानु बास्तोला (काठमाडौँ-९), सुशीला थिङ (सिन्धुली-२), र सरिता प्रसाईँ (झापा-२) लगायतका उम्मेदवार छन्।

प्रमुख दलहरूमध्ये सबैभन्दा कम महिला उम्मेदवार उठाउनेमा एमाले देखिएको छ। एमालेले प्रत्यक्षतर्फ जम्मा १० जना महिलालाई मात्र चुनावी मैदानमा पठाएको छ। यो भनेको ६ प्रतिशत मात्र हो।

एमालेबाट जुली महतो (धनुषा-३), ज्वालाकुमारी साह (बारा-३), भगवती चौधरी (सुनसरी-३), र विमला विक (बर्दिया-२) लगायतका महिला उम्मेदवार छन्।

माघ ७, २०८२ बुधबार १८:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।