स्वास्थ्य उपकरण खरिदमा मिश्रासँग विशेषले माग्यो पाँच लाख धरौटी
काठमाडौं : विशेष अदालतले भ्रष्टाचार मुद्दामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग ५ लाख धरौटी माग गरेको छ। बुधवार विशेषको न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई ५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक हुँदा म्यामोग्राफी मेसिन खरिदमा अनियमितता गरेको दाबीसहित कात्तिक २ गते मिश्रासहित १४ जनाविरुद्ध विशेषमा मुद्दा दर्ता गरेको थियो।
अभियोग पत्रमा झुट्टा-बिल-बिजक र गलत प्रतिवेदनका आधारमा मिलेमतो गरेर करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी हानी पुर्याएको दाबी छ।
अख्तियारले मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, सेवा विभागका निर्देशक डा विवेककुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, जनस्वास्थ्य अधिकृत दीपक अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको थियो।
तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भु प्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम ईन्कर्पेरिशन ट्रेडस प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसाल समेत प्रतिवादी छन्।
मिश्रा स्वास्थ्य सचिवको आकाङ्क्षी थिइन्। प्रदीप पौडेल मन्त्री हुँदा उनलाई स्वास्थ्य सचिव नबनाएर डा. विकास देवकोटालाई बनाएका थिए। साथै सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछि मिश्राले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।
उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने तयारी थियो। तर अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाउन लागेपछि मिश्रालाई स्वास्थ्य मन्त्री बनाइएको थिएन।
माघ ७, २०८२ बुधबार १७:३९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।