रुपन्देहीको पाँच क्षेत्रमा एक सय ५९ उम्मेदवार, विष्णुदेखि सुलभसम्म प्रतिस्पर्धामा

रुपन्देहीको पाँच क्षेत्रमा एक सय ५९ उम्मेदवार, विष्णुदेखि सुलभसम्म प्रतिस्पर्धामा

बुटवल : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको पाँच क्षेत्रमा १ सय ५९ जनाले उम्मेदवारी दिएका छन्। सबैभन्दा धेरै उम्मेदवारी रुपन्देही क्षेत्र नम्बर २ मा परेको छ। यो क्षेत्रबाट ४१ जनाले उम्मेदवारी दिएका छन्। क्षेत्रमा दलबाट २१ र स्वतन्त्र २० जनाले मनोनयन दर्ता गरेको निर्वाचित अधिकृत राजेन्द्र न्यौपानेले बताए ।

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेल, एमालेबाट विष्णु पौडेल, नेकपाबाट विश्वदिप पाण्डे, रास्वपाबाट सुलभ खरेल सहित ४१ जनाको उम्मेदवारी परेको छ। यो यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।

त्यस्तै सबैभन्दा कम रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी परेको छ। सो क्षेत्रबाट २२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए। उनका अनुसार यहाँ दलबाट १५ र स्वतन्त्र ७ जनाको मनोनयन दर्ता भएको छ। 

यो क्षेत्रबाट नेपाली कांग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनमत पार्टीबाट भोपेन्द्र यादव, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ल, नेपाली कम्युनिस्ट पार्टीबाट बाबुलाल यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खान लगायतले उम्मेदवारी दर्ता गराएका छन्। यो निर्वाचन क्षेत्रमा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका छन्।

त्यस्तै क्षेत्र नं. १ मा ३२ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कपिल पौडेलले २० जना दलका र १२ जना स्वतन्त्र गरी ३२ जनाको उम्मेदवारी परेको जानकारी दिए। यो क्षेत्रबाट काग्रेसको तर्फबाट हिरा केसी, एमालेबाट दधिराम न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट घनश्याम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुनिल लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रज्वल बोहोरा लगायतले उम्मेदवारी दर्ता गराएका छन्। 

रुपन्देहीको क्षेत्र नं. १ मा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन्। ४५ वटा मतदान स्थल र १५९ वटा मतदान केन्द्र छन्।

क्षेत्र नम्बर ३ मा ३६ जनाले मनोनयन दर्ता गरेका छन्। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले दलबाट १९ र स्वतन्त्र १७ जना गरी ३६ जनाले उम्मेदवारी दिएको जानकारी दिए। यहाँबाट नेपाली कांग्रेसबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, रास्वपाबाट डा. लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा, नेकपाबाट फैज अहम्मद खाँ, जसपा नेपालबाट श्रीनिवास यादव लगायतको उम्मेदवारी परेको छ। यो निर्वाचन क्षेत्रमा १ लाख ४० हजार ३५ मतदाता रहेका छन्।

क्षेत्र नं. ५ बाट  मा नेपाली कांग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहमद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मीनप्रसाद घिमिरे, जसपा नेपालबाट मोहम्मद वहिद फकिर लगायतको उम्मेदवारी परेको छ। यहाँ १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेका छन्।

 

माघ ७, २०८२ बुधबार १६:०२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।