अञ्जनालाई फापेको ‘प’
काठमाडौं : कागताली भनौँ या अनौठो संयोग! नायिका अञ्जना बराईलीको फिल्मी करियरको ग्राफ हेर्दा लाग्छ- उनलाई ‘प’ अक्षर गजबले फापेको छ।
हो, यही शुक्रबारबाट उनको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’ रिलिज हुँदैछ। फिल्मको प्रमोसनमा दौडधुप गरिरहेकी अञ्जनालाई यतिबेला उनको अभिनयभन्दा बढी फिल्मको ‘नाम’ को चर्चाले घेरेको छ। बजारमा गाइँगुइँ सुनिन्छ- ‘अञ्जनालाई त 'प' बाट नाम आउने फिल्म मात्र हिट हुन्छन् रे!’
रेकर्ड नै हेरौँ न- ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ ले सय दिन मनायो। ‘पुजार सार्की’ हिट भयो। अनि अहिले हलमा १३औँ हप्तामा दौडिरहेको फिल्मको नाम हो-‘परान’। यी तीनै फिल्मको नाम ‘प’ बाट सुरु हुन्छ।
तर, जब उनी ‘चित्रा’ र ‘डोरी’ मा देखिइन्, बक्स अफिसमा नमिठो गरि पछारिइन्। त्यसैले त अहिले इन्टरभ्युमा पनि उनलाई अभिनयको भन्दा ‘नामको संयोग’ बारे बढी प्रश्न सोधिन थालिएको छ।
यो संयोगको शृङ्खलामा अर्को ‘प’ थपिएको छ- ‘परिवर्तन’। यसपटक उनी सधैँ झैँ गाउँले सोझी ठिटी होइन, कडा स्वभावकी पुलिस इन्स्पेक्टरको बर्दीमा देखिँदैछिन्। जोडीका रूपमा छन्- अभिनेता सुशील श्रेष्ठ।
के अञ्जनाको यो ‘लक्की चार्म’ पुलिसको बर्दीमा पनि काम गर्ला त? वा यो केवल एक भ्रम मात्र हो? यदि ‘परिवर्तन’ ले बक्स अफिसमा धमाल मच्चायो भने चाहिँ मान्नैपर्छ- अञ्जनालाई पण्डितले जुराएरै ‘प’ अक्षर दिएका रहेछन्! नतिजाका लागि भने शुक्रबारसम्म कुर्नैपर्ने भयो।
माघ ७, २०८२ बुधबार १२:०७:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।