अनुष्का र ऋषभसहित पाँच जनालाई ‘स्किल हिरो अवार्ड’
काठमाडौं : ग्लोकल आफ्टर स्कूलद्वारा आयोजित स्किल विक २०२६ सोमबार ललितपुरस्थित द प्लाजामा एक भव्य समारोहका साथ सम्पन्न भएको छ।
सप्ताहव्यापी रूपमा चलेको यस कार्यक्रमको समापन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको छ।
सिप, सिर्जनशीलता र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सातौँ संस्करणको यस कार्यक्रममा उद्योगी, कूटनीतिज्ञ र सयौँ युवाहरूको उपस्थिति थियो।
स्किल हिरो अवार्ड विजेताहरू:
आफ्नो क्षेत्रमा अनुकरणीय योगदान दिएका निम्न पाँच व्यक्तित्वलाई सम्मानित गरिएको छ:
उद्यमशीलता: अनुष्का श्रेष्ठ (मिस नेपाल २०१९ तथा 'मक्कुसे' की संस्थापक)
पर्यटन र आतिथ्य: ऋषभ अग्रवाल (सिल्क आर्टिसनल क्रिमरी)
कला र संस्कृति: किशोर कायस्थ (वरिष्ठ फोटोग्राफर)
विज्ञान र प्रविधि: समीर फुयाँल (कारोबार एपका विकासकर्ता)
प्रशिक्षुता : सोनाम नेम्वाङ
माघ २ गतेदेखि सुरु भएको स्किल विकमा कार्यशाला, रोजगार मेला, र सिइओ अनप्लग्ड जस्ता कार्यक्रमहरू भएका थिए।
टुडे मिट्स टुमरो भन्ने नाराका साथ आयोजित सिइओ अनप्लग्डमा सौरभ ज्योति, संजय गोल्छा र आँचल कुँवर जस्ता प्रतिष्ठित उद्यमीहरूले बजारमा आवश्यक सिप र शिक्षाको खाडलबारे प्यानल छलफल गरेका थिए।
यो कार्यक्रमलाई एम्बार्क कलेज, युरोपियन युनियन, भारतीय दूतावास, र युएनडिपी लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गरेका थिए।
माघ ७, २०८२ बुधबार १०:५३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।