याङ्गो ग्रुपद्वारा नेपालमा ‘याङ्गो डेलिभरी’ सेवा सुरु, अब एपबाटै कार्गो पठाउन सकिने

याङ्गो ग्रुपद्वारा नेपालमा ‘याङ्गो डेलिभरी’ सेवा सुरु, अब एपबाटै कार्गो पठाउन सकिने

काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्नो सेवा विस्तार गर्दै ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ।

यसअघि राइड सेवा दिँदै आएको याङ्गो एपमार्फत अब काठमाडौं उपत्यकाभित्र सामान डेलिभरी समेत गर्न सकिने भएको हो।

व्यक्तिगत प्रयोगकर्ता तथा साना व्यवसायलाई लक्षित गर्दै कम्पनीले तीन किसिमका विकल्प ल्याएको छ।

मोटो कुरियर कागजात र साना प्याकेजका लागि उपयुक्त हुनेछ भने कार कुरियर मध्यम आकारका सामानका लागि र कार्गो ठूला तथा भारी सामान ढुवानीका लागि प्रयोग गरिन्छ।

याङ्गो डेलिभरीका दक्षिण एसिया क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरका अनुसार यो सेवाले काठमाडौँमा सामान ओसारपसार प्रक्रियालाई सहज र पारदर्शी बनाउनेछ।

यस एपबाट रुटिङ एल्गोरिदम र लाइभ-ट्रयाकिङ सुविधा मार्फत सामानको अवस्था हेर्न सकिन्छ भने कम्पनीले आफ्नै सवारी साधन नचलाई स्थानीय यातायात कम्पनी र चालकहरूसँग सहकार्य गरेर सेवा दिनेछ, जसले चालकहरूलाई आम्दानीको थप अवसर सिर्जना गर्नेछ।

याङ्गो ग्रुपले सन् २०२५ को मे महिनामा नेपालमा राइड–हेलिङ सेवा सुरु गरेको थियो। अब एउटै एपबाट यात्रा र ढुवानी दुवै सेवा लिन सकिने कम्पनीले जनाएको छ।

माघ ७, २०८२ बुधबार १०:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।