राजनीतिमा 'बेरोजगारी' कि आकर्षण ! , प्रत्यक्षमा सिटभन्दा हजार प्रतिशत बढीको उम्मेदवारी, ८९ प्रतिशत पुरुष
काठमाडौं : १ सय ६५ निर्वाचन क्षेत्रका लागि मंगलबार भएको उम्मेदवारी मनोनयनमा २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराए। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको हो। मंगलबार साँझ ६ बजेसम्मको तथ्याङ्कमा २ हजार ९ सय २५ जनाको उम्मेदवारी दर्ता भइसकेको छ। प्रतिशतमा हेर्ने हो भने यो एक हजार प्रतिशत बढी हो।
यसको आधारमा प्रतिनिधी सभाको एक सिटका लागि ११ उम्मेदवार प्रतिष्पर्धामा रहेको देखिन्छ।
निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतका अनुसार उम्मेदवारहरूमध्ये ३ सय ३६ महिला र २ हजार ५ सय ८९ पुरुष छन्। अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको छ। उम्मेदवार बनेका महिला र पुरुषको संख्या प्रतिशतमा हेर्ने हो भने ११ प्रतिशत महिला र ८९ प्रतिशत पुरुष देखिन्छन्।
एक सिटका लागि ११ प्रतिस्पर्धी सकारात्मक हो त ?
तथ्याङ्कले प्रतिनिधि सभाको एउटै सिटका लागि ११ जनाभन्दा बढी प्रतिस्पर्धी हुनु 'उत्साह' मान्ने हो भने लोकतन्त्रप्रति नागरिकको बढ्दो रुचि देखाउँछ। जेनजी आन्दोलनले युवा पुस्तालाई राजनीतिप्रति आकर्षित गरेको हुनसक्छ।
रास्वपा जस्ता नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको लहरले गर्दा "म पनि देश परिवर्तनमा सहभागी हुन सक्छु" भन्ने आत्मविश्वास बढेको मान्न सकिन्छ।
महिला, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रबाट भएको उम्मेदवारीले राज्यको मूलधारमा आउने आकांक्षा बढेको देखिन्छ। राजनीति केवल 'हेभिवेट' हरूको मात्र पेवा होइन भन्ने भाष्य निर्माण हुनु सकारात्मक पक्ष हो।
तर बेरोजगारी वा 'राजनीतिक अवसरवाद' को दृष्टिकोणमा यसलाई 'राजनीतिक बेरोजगारी' को रूपमा पनि हेर्न सकिन्छ। उत्पादनशील क्षेत्र (कृषि, उद्योग, प्रविधि) मा अवसर नहुँदा धेरैलाई 'राजनीति' नै सबैभन्दा सजिलो र आकर्षक पेसा वा कमाउने माध्यम जस्तो लागेको हुनसक्छ।
केही उम्मेदवारहरू हेर्दा सामाजिक सञ्जालमा लोकप्रिय भएकै भरमा उम्मेदवार बनेको देखिन्छ। उनीहरूमा संसदमा हुनुपर्ने न कानुनी ज्ञान देखिन्छ न त राजनीतिक ज्ञान नै। सांसद हुँदा पाइने शक्ति, सम्मान र सरकारी सुविधाका कारण पनि योग्यताभन्दा बाहिरका मानिसहरू पनि यो दौडमा सामेल भएका हुन सक्छन्।
पार्टीले टिकट नदिँदा पनि 'विद्रोही' वा 'स्वतन्त्र' उम्मेदवारी दिने लहरले राजनीतिमा निष्ठाभन्दा पनि व्यक्तिगत महत्त्वाकाङ्क्षा हाबी भएको देखिन्छ।
माघ ६, २०८२ मंगलबार २३:०२:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।