ट्रम्पले राखे ग्रिनल्याण्डलाई अमेरिकी झण्डा गाडेको तस्बिर

ट्रम्पले राखे ग्रिनल्याण्डलाई अमेरिकी झण्डा गाडेको तस्बिर

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डमा अमेरिकी झण्डा फहराउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

ट्रुथ सोसलमा पोस्ट गरिएको उक्त तस्बिरमा ट्रम्पसँगै अमेरिकी विदेश मन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्स पनि देखिएका छन्।

तस्बिरको अगाडि राखिएको एउटा साइन बोर्डमा ‘ग्रिनल्याण्ड : अमेरिकी भूभाग, स्थापना- २०२६’ लेखिएको छ।

राष्ट्रपति ट्रम्पले अर्को एउटा तस्बिर पनि पोस्ट गरेका छन्, जुन अगस्ट २०२५ को एक तस्बिरको इडिटेड संस्करण हो।

ट्रम्पले सेयर गरेको उक्त तस्बिरमा रहेको प्रेजेन्टेसन बोर्डको नक्सालाई परिवर्तन गरिएको छ।

सम्पादित नक्सामा उत्तर अमेरिका, क्यानडा र ग्रिनल्याण्डलाई अमेरिकी झण्डाले ढाकेर अमेरिकाकै हिस्साका रूपमा देखाइएको छ।

उक्त तस्बिरको वास्तविक संस्करण अगस्ट २०२५ मा खिचिएको थियो, जतिबेला युरोपेली नेताहरू ट्रम्प र भ्लादिमिर पुटिनबीचको फोन वार्तापछि वासिङ्टन पुगेका थिए।

ह्वाइट हाउसको आधिकारिक फ्लिकर अकाउन्टमा रहेको मूल तस्बिरमा देखिएको नक्साले युक्रेनमा रुसी कब्जाको स्थिति देखाएको थियो।

तर, ट्रम्पले अहिले पोस्ट गरेको तस्बिरमा त्यसलाई परिवर्तन गरी क्यानडा र ग्रिनल्याण्डलाई अमेरिकामा गाभिएको देखाइएको छ।

माघ ६, २०८२ मंगलबार १९:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।