प्रतिनिधि सभा निर्वाचनका लागि तीन हजार उम्मेदवारी दर्ता, अपाङ्गता भएकाहरू जम्मा ८५ जना
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि करिब तीन हजार उम्मेदवारहरूको मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मंगलबार देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको हो।
आयोगले साँझ ६ बजेसम्मको विवरण अनुसार देशभरबाट कुल २ हजार ९२५ जनाको उम्मेदवारी परेको जनाएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दिएको जानकारी अनुसार, मनोनयन दर्ता गराउनेहरूमा पुरुषको सङ्ख्या २ हजार ५८९ र महिलाको सङ्ख्या ३३६ रहेको छ।
यस्तै, समावेशी तथ्याङ्क अनुसार अपाङ्गता भएका व्यक्तिहरूबाट ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको सचिव राउतले जानकारी दिए।
आयोगले उम्मेदवारहरूको विस्तृत प्रारम्भिक विवरण मंगलबार राति नै सार्वजनिक गर्ने तयारी गरेको छ।
मनोनयन दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले खुसी व्यक्त गरे।
उनले निर्वाचन प्रक्रिया सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी कार्यक्रमहरूमा पनि राजनीतिक दल र सरोकारवालाहरूबाट यस्तै सहयोगको अपेक्षा राखे।
माघ ६, २०८२ मंगलबार १९:१४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।