‘बिहे गर्छु’ भन्दै होटल पुर्‍याएर प्रेमीले नै जबर्जस्ती गरेपछि...

‘बिहे गर्छु’ भन्दै होटल पुर्‍याएर प्रेमीले नै जबर्जस्ती गरेपछि...
सांकेतिक तस्बिर

काठमाडौं : दुई वर्षअघिको चिनजान। बाक्लिँदै गएको भेटघाट र प्रेम सम्बन्ध। ‘तिमी नै मेरो जीवनसाथी हौ’ भन्दै देखाइएको सपना। तर, विवाहको त्यो बाचा एउटा होटलको बन्द कोठाभित्र पुगेपछि भने अर्कै परिदृश्य बन्यो। प्रेमीले नै प्रेमिकाको विश्वास र शरीर लुटेर सम्पर्कविहीन भएपछि मंगलबार यो घटना अदालतको ढोकासम्म पुगेको छ।

पीडित युवतीलाई विवाहको प्रलोभन देखाइ काठमाडौंको पिङ्गलास्थानस्थित एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको अभियोगमा झापाका ३१ वर्षीय कुमार कालिकोटेविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता जगत बहादुर बोहराद्वारा दायर गरिएको अभियोग पत्रमा अभियुक्त कालिकोटेलाई ७ देखि १० वर्षसम्म कैद सजाय र ३ लाख रुपैयाँ जरिवानाको माग गरिएको छ।

होटलको कोठा नं. ३०५
घटना २०८१ साल मंसिर १९ गतेको हो। दिउँसोको करिब २ बजेको थियो। झापाको शिवसताक्षी-५ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने कुमार कालिकोटे र पीडित युवती (परिवर्तित नाम: जिल्ला २६ गौशाला ३५) पिङ्गलास्थानस्थित ‘होटल श्रीयन्त्र’ मा पुगे।

अभियोग पत्रमा उल्लेख भएअनुसार, कुमारले ती युवतीलाई ‘बिहे गर्छु’ भन्ने भरोसा दिलाएका थिए। फकाई-फुल्याई होटलको कोठा नं. ३०५ मा लगेपछि कुमारको व्यवहार बदलियो। उनले कोठाको चुकुल लगाए र युवतीको मन्जुरी बिना जबर्जस्ती करणी गरे।

घटना विवरणमा भनिएको छ- ‘विवाह गर्छु भनी ललाईफकाई विश्वासमा पारी होटलमा लगि जबर्जस्ती करणी गरी सो स्थानबाट गएपश्चात् निज अन्यायीले मलाई वास्ता गर्न छाडी फोन समेत रिसिभ गर्न छाडेकोले कारबाही गरी पाउँ।’

सम्पर्क विच्छेदपछि प्रहरीको शरण
घटनापछि पीडितले कुमारलाई पटक-पटक सम्पर्क गर्न खोजिन्। तर, जसले केही घण्टा अघिसम्म जीवन बिताउने कसम खाएका थिए, उनैले फोन उठाउन छाडे। आफू धोकामा परेको महसुस भएपछि पीडित युवतीले प्रहरी वृत्त गौशालामा जाहेरी दिइन्। सोही जाहेरीका आधारमा प्रहरीले पुस ११ गते कुमारलाई पक्राउ गरेको थियो।

सरकारी वकिलले अदालतमा पेश गरेको मिसिलमा होटलका सञ्चालक र कर्मचारीको बयानलाई पनि मुख्य प्रमाणका रूपमा लिइएको छ। होटल सञ्चालक खेमराज अधिकारी र कर्मचारीले ती दुई जना होटलमा आएको र कोठा नं. ३०५ बुक गरेको पुष्टि गरेका छन्।

कर्मचारीले कागज गर्दै भनेकी छिन्, ‘त्यस दिन दिउँसो २:१४ बजेतिर उनीहरू आएका हुन्। केटाले नै ३०५ नम्बरको कोठा बुक गरी इन्ट्री गरेका थिए। पछि पो थाहा भयो, विवाह गर्छु भनेर झुक्याएर ल्याइएको रहेछ।’

अभियुक्तको इन्कारी बयान
यता पक्राउ परेका कुमार कालिकोटेले भने अदालतमा इन्कारी बयान दिएका छन्। उनले पीडितसँग २ वर्षदेखि चिनजान रहेको र आफ्नो घरमा समेत आउनेजाने गरेको स्वीकारे पनि शारीरिक सम्बन्ध र करणीको आरोप भने अस्वीकार गरेका छन्।

उनले बयानमा भनेका छन्, ‘म पक्राउ पर्नुभन्दा एक हप्ता अगाडि उहाँले फोन गरेर तिमीविरुद्ध करणी मुद्दा दर्ता गराएको छु भन्नुभएको थियो। प्रहरीले बोलाएपछि म आफैँ गएको हुँ, मैले करणी गरेको छैन।’

मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुर पुष्टि भएको दाबी गर्दै सरकारी वकिल कार्यालयले कुमारविरुद्ध कडा सजायको माग गरेको छ।

पीडित १८ वर्षभन्दा माथिको देखिएकाले संहिताको दफा २१९ (३) (ङ) बमोजिम ७ देखि १० वर्षसम्म कैद सजायको माग गरिएको छ। साथै, दफा २१९ (३क) (ग) बमोजिम कसुरदारलाई ३ लाख रुपैयाँ थप जरिवाना गराई सो रकम पीडितलाई क्षतिपूर्ति बापत भराउन मागदाबी लिइएको छ।

माघ ६, २०८२ मंगलबार १८:५९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।