बंगलादेशका खेलकुद मन्त्रीले फेरि भने- ‘भारतमा विश्वकप खेल्न सकिँदैन’
एजेन्सी : बंगलादेश सरकारका खेलकुद मन्त्रीका रूपमा रहेका सल्लाहकार आसिफ नजरुलले भारतमा आयोजना हुने आईसीसी टी-२० विश्वकप खेल्ने विषयमा आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारेका छन्।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नसकिने पुरानै अडान दोहोर्याएका हुन्।
बंगलादेशले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै आफ्ना खेलहरू प्रतियोगिताको सह-आयोजक राष्ट्र श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष माग गरेको छ।
यदि बंगलादेश प्रतियोगिताबाट बाहिरिएमा स्कटल्याण्डले खेल्ने चर्चा चलिरहेका बेला नजरुलले त्यस्तो सम्भावनालाई अस्वीकार गरेका छन्।
पछिल्लो समय दुई देशबीच बढेको राजनीतिक तनावका कारण यो विवाद उत्पन्न भएको हो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्स (केकेआर) लाई बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएपछि विवाद थप चर्किएको थियो।
यही विषयमा गत सप्ताहन्त ढाकामा आईसीसीका अधिकारी र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीच छलफल भए पनि कुनै सहमति जुट्न सकेन।
आईसीसीले यो समस्या समाधानका लागि जनवरी २१ सम्मको समयसीमा तोकेको भन्ने चर्चा छ। यदि बंगलादेशले प्रतियोगितामा भाग नलिएको खण्डमा विश्वकपमा छनौट नभएका टोलीमध्ये उच्च वरीयतामा रहेको स्कटल्याण्डले मौका पाउन सक्नेछ। तर, त्यसका लागि तयारी गर्न कम्तीमा १५ दिनको समय दिनुपर्ने हुन्छ।
यसअघि बंगलादेशले आफ्नो समूह परिवर्तन गर्ने प्रस्ताव राखेको भए पनि आयरल्याण्डले उक्त प्रस्ताव अस्वीकार गरेको थियो।
खेलकुद सल्लाहकार नजरुलले आईसीसी र भारतप्रति कडा टिप्पणी गरेका छन्।
उनले भने, ‘मलाई स्कटल्याण्ड हाम्रो स्थानमा आउने कुरा थाहा छैन। तर, यदि आईसीसीले भारतीय बोर्डको दबाबमा परेर हामीमाथि अस्वाभाविक र अनुचित शर्तहरू थोपर्न खोज्छ भने हामी त्यसलाई स्वीकार गर्ने छैनौँ।’
उनले विगतमा पाकिस्तानले भारत जान अस्वीकार गर्दा आईसीसीले खेल स्थल परिवर्तन गरेको उदाहरण दिँदै भने, ‘हामीले तार्किक आधारमा खेल स्थल परिवर्तनको माग गरेका छौं, अतार्किक दबाब दिएर हामीलाई भारतमा खेल्न बाध्य पार्न सकिँदैन।’
माघ ६, २०८२ मंगलबार १८:४६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।