नेपाली कम्युनिष्ट पार्टीद्वारा १६५ वटै क्षेत्रमा उम्मेदवारी दर्ता
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दर्ता गराएको छ।
पार्टीले सातै प्रदेशका सबै जिल्लामा उम्मेदवार खडा गर्दै चुनावी मैदानमा होमिएको हो। मंगलबार देशभर उम्मेदवारी दर्ता चलिरहँदा नेकपाले आफ्ना शीर्ष नेताहरूदेखि नयाँ अनुहारसम्मलाई टिकट दिएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।
पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले लुम्बिनी प्रदेशको पूर्वी रुकुम (क्षेत्र नं. १) बाट उम्मेदवारी दिएका छन्। यसअघि गोरखाबाट निर्वाचित दाहाल यसपटक आफ्नो पुरानो आधार क्षेत्र मानिने रुकुम फर्किएका हुन्।
त्यस्तै, पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेश प्रदेशको रौतहट क्षेत्र नं. १ बाटै उम्मेदवारी दिएका छन्।
लुम्बिनी प्रदेशबाटै प्रभावशाली नेताहरू वर्षमान पुनले रोल्पा-१ बाट र देवन्द्र पौडेलले नवलपरासी (पश्चिम)-२ बाट उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंमा सुमन सायमी, झापामा ओलीविरुद्ध रञ्जित
नेकपाले संघीय राजधानी काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार उठाएको छ।
काठमाडौं क्षेत्र नं. ८ मा स्वतन्त्र अभियन्ताका रूपमा चिनिएका सुमन सायमीलाई नेकपाले आफ्नो उम्मेदवार बनाएको छ।
काठमाडौंका अन्य क्षेत्रहरूमा क्रमशः १ मा मेनका भण्डारी, २ मा नितेश पौडेल, ३ मा निरज लामा, ४ मा इन्द्र भुसाल, ५ मा कल्पना शर्मा, ६ मा हेमलाल शर्मा (हिमाल), ७ मा बसन्त प्रसाद मानन्धर, ९ मा राधाकृष्ण महर्जन र १० मा रुपा महर्जनले उम्मेदवारी दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव लड्न लागेको झापा क्षेत्र नं. ५ मा नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ।
त्यस्तै झापा-१ मा अशेष घिमिरे, २ मा धर्मशिला चापागाईं, ३ मा डिल्ली घिमिरे र ४ मा पुरुषोत्तम चुडाल उम्मेदवार बनेका छन्।
यसका अलावा नेकपाले मोरङ-४ बाट पूर्वमन्त्री अमनलाल मोदी, कैलाली-५ बाट प्रेम आले, मोरङ-६ बाटओपेन्द्र कुमार राय, सर्लाही-३ बाट नेता नारायणकाजी श्रेष्ठलाई उठाउन लागेको छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी दिएको गोरखा-२ मा पार्टीले विद्यार्थी राजनीतिबाट उदाएका नेता लेखनाथ न्यौपानेलाई मौका दिएको छ भने जाजरकोट-१ बाट शक्ति बहादुर बस्नेत, सिराहा-४ बाट अजय शंकर नायकलाई उम्मेदवार बनाएको छ।
पार्टीले कोशी प्रदेशका २८, मधेशका ३२, बागमतीका ३३, गण्डकीका १८, लुम्बिनीका २६, कर्णालीका १२ र सुदूरपश्चिमका १६ गरी कुल १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
नेकपाले यसपटक समावेशी अनुहार र पुराना नेताहरूको मिश्रणसहित उम्मेदवार छनोट गरेको देखिन्छ। पश्चिम रुकुममा गोपाल शर्मा, सल्यानमा रमेश कुमार मल्ल र ललितपुर–३ मा राजकाजी महर्जनजस्ता नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
माघ ६, २०८२ मंगलबार १८:२८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।