अदालतले धरौटी मागेपछि रविको रोइलो- ‘तिमीहरू पापी र अत्याचारी हौ’
काठमाडौं : सानो पाइला सहकारीको रकम अपचलन अभियोगमा पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा आक्रोश मिश्रित ‘रोइलो’ पोखेका छन्।
मंगलबार न्यायाधीश रुद्र सुवेदीको इजलासले धरौटी माग्ने आदेश दिएर अदालत परिसरबाट बाहिरिएलगत्तै लामिछानेले फेसबुकमा लामो स्ट्याटस लेख्दै राज्य संयन्त्र र विपक्षीहरूलाई ‘पापी’, ‘अपराधी’ र ‘अत्याचारी’ को संज्ञा दिएका हुन्।
देशभर उम्मेदवारी दर्ताको रौनक चलिरहँदा आफूलाई नियोजित रूपमा अदालतको चक्करमा फसाइएको भन्दै उनले रोइलो छ। आफू सहकारीको बाटो नै नहिँडेको दाबी गर्दै उनले लेखेका छन्- ‘नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू।’
आज एकै दिन पर्सा, काठमाडौं र रुपन्देही गरी तीनवटा जिल्ला अदालतमा आफ्नो मुद्दाको सुनुवाइ चलिरहेको उल्लेख गर्दै उनले आफू पूर्ण रूपमा चुनावमा होमिन नपाएको गुनासो गरेका छन्।
लामिछानेले आफूमाथि भएको कारबाहीलाई अत्याचारको संज्ञा दिदै यसको बदला फागुन २१ गतेको निर्वाचनबाट लिने चेतावनी समेत दिएका छन्।
उनले लेखेका छन्, ‘मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु।’
आफूलाई महाभारतको पात्र अभिमन्युसँग तुलना गर्दै उनले आफू चक्रव्यूहमा फस्ने पात्र नभएको जिकिर गरेका छन्। ‘फेरि पनि भन्छु, म अभिमन्यु होइन’, उनले भनेका छन्।
उनले आजै पर्साबाट चितवन जान नपाएपछि वारेसमार्फत मनोनयन दर्ता गराएका छन्।
माघ ६, २०८२ मंगलबार १८:११:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।