काठमाडौं उपत्यकामा कांग्रेसबाट नयाँ अनुहार, गगनको क्षेत्र ४ मा सचिन आउँदा २ मा कबिरलाई टिकट
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौं २ मा कबिर शर्मालाई उम्मेदवार बनाएको छ। भदौ २३ र २४ को आन्दोलनको अजेण्डा अनुसार कांग्रेसले सो क्षेत्रमा युवा उम्मेदवार कबिरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। करिब क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत हुन्।
२०७९ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले सो क्षेत्र माओवादी केन्द्रका लागि छाडेको थियो। यस पटक विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भए पनि पार्टीले स्थानीय र युवा उम्मेदवारलाई टिकट दिएको हो। काठमाडौंको १ मा प्रकाशमान सिंह उम्मेदवार बन्दै आएकोमा यस पटक प्रबल थापाले टिकट पाएका छन्। काठमाडौं ३ मा रमेश अर्याल उम्मेदवार बनेका छन्। उनी सोही क्षेत्रका स्थानीय हुन्। गत निर्वाचनमा सो क्षेत्र कांग्रेसले जितेको थियो।
कांग्रेस सभापति गगन थापा निरन्तर उम्मेदवार बन्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ मा यस पटक युवा उम्मेदवार सचिन तिमल्सिना उम्मेदवार बनेका थिए। उनी कांग्रेसमा रूपान्तरणका लागि सक्रिय थिए भने विशेष महाधिवेशनको पक्षधर समेत हुन्। काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल उम्मेदवार बनेका छन्।
प्रभावशाली युवा नेता भए पनि स्वास्थ्यमन्त्रीहुँदा स्वास्थ्य खरिद अनियमिततामा जोडिदा उनी बदनाम छन्। उनी विशेष महाधिवेशनको पक्षमा सक्रिय भएर सर्वसम्मत महामन्त्री भएका थिए। उनी स्वास्थ्यमन्त्रीहुँदा भएका अनियमितताबारे उकेराले प्रमाणसहित शृङ्खलाबद्ध समाचार प्रकाशित गरिरहेको छ। अहिले पनि उकेराले उनी मन्त्रीहुँदा गरेको नीतिगत भ्रष्टाचारबारे शृङ्खलाबद्ध रूपमा प्रमाणसहित समाचार प्रकाशित गरिरहेको छ।
काठमाडौं ६ मा सबुज बानिया उम्मेदवार बनेका छन्। काठमाडौं ७ मा प्रमोदहरी गुरागाईँ उम्मेदवार बन्दा ८ मा सपना राजभण्डारी, ९ मा नानु बास्तोला र १० मा हिमाल कार्की उम्मेदवार बनेका छन्। उता ललितपुरको ३ क्षेत्रमध्ये ललितपुर १ मा उदयशसशेर जबरा उम्मेदवार बनेका छन्। उनी निरन्तर सोही क्षेत्रबाट उम्मेदवार बनिरहेका छन्। पार्टीगत विवादमा उनी पनि विशेषको पक्षमा उभिएर सह-महामन्त्री भएका छन्।
ललितपुर २ मा प्रेमकृष्ण महर्जन र ३ मा जितेन्द्रकुमार श्रेष्ठ उम्मेदवार बनेका छन्। भक्तपुर १ मा किरण न्यौपाने उम्मेदवार बन्दा २ मा कबिर राणा उम्मेदवार बनेका छन्। उनी देशान्तर साप्ताहिकका प्रकाशक र सम्पादक हुन्।
माघ ६, २०८२ मंगलबार १८:१०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।