प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सकियो, भोलि यसरी दिन सकिन्छ उजुरी
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया उत्साहजनक रूपमा सम्पन्न भएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका छन्।
आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार, आज दर्ता भएका मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आजै बेलुका प्रकाशन गरिनेछ। उक्त सूचीमा रहेका उम्मेदवारको योग्यताका सम्बन्धमा कसैलाई चित्त नबुझेमा भोलि (माघ ७ गते) उजुरी दिन सकिनेछ।
आयोगका अनुसार, माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृत समक्ष उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ । उजुरी परेको खण्डमा निर्वाचन अधिकृतले सोको जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेभित्र निर्णय गर्नेछन्।
उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। फिर्ता लिन चाहने उम्मेदवारले अनुसूची-२२ बमोजिमको सूचना निर्वाचन अधिकृतसमक्ष पेस गर्नुपर्नेछ।
सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
निर्वाचन आयोगले यसपटक राजनीतिक दल तथा उम्मेदवारहरूलाई जिम्मेवार बनाउन घोषणापत्रसम्बन्धी नयाँ व्यवस्थामा कडाइ गरेको छ । आयोगको सूचना अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोही आधारमा प्रचारप्रसार गर्नुपर्नेछ।
उक्त घोषणापत्र आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ। यसका अलावा निर्वाचित भइसकेपछि उम्मेदवारले घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्नेछ।
माघ ६, २०८२ मंगलबार १७:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।