लुम्बिनी प्रदेश सभामा चार सिट रिक्त
बुटवल : आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनका लागि लुम्बिनी प्रदेश सभाका चार जना सदस्यले पदबाट राजीनामा दिएका छन्। उनीहरूको राजीनामासँगै प्रदेश सभाका चारवटा सिट रिक्त भएका छन्।
राजीनामा दिनेहरूमा प्रदेश सरकारका तीनजना बहालवाला मन्त्रीसमेत रहेका छन्।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ पुन मगरका अनुसार राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दुई, नागरिक उन्मुक्ति पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक सांसद छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट दाङ क्षेत्र नम्बर ३ (ख) का सांसद धनबहादुर मास्की र बाँके क्षेत्र नम्बर १ (क) की सांसद कृष्णा केसीले राजीनामा दिएका हुन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका कन्यौया बनियाले पनि सांसद पदबाट राजीनामा बुझाएका छन्।
राजीनामा दिनेमध्ये मास्की, केसी र चौधरी लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीमा थिए।
सङ्घीय संसदको चुनाव लड्नका लागि उनीहरूले प्रदेश सांसद र मन्त्री पद त्यागेका हुन्। सचिव पुनका अनुसार चारै जनाको राजीनामा स्वीकृत भई उक्त पदहरू रिक्त भएको जानकारी गराइएको छ।
माघ ६, २०८२ मंगलबार १७:०८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।