निर्वाचन महासंग्राम : चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिँदा देउवा प्रतिस्पर्धा बाहिर
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भयो।
देशका १६५ वटै निर्वाचन क्षेत्रमा भएको मनोनयन दर्तासँगै चार जना पूर्वप्रधानमन्त्रीहरू चुनावी मैदानमा उत्रिँदा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिरिए।
झापा-५ मा ओलीविरुद्ध बालेन
सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नं ५ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ओलीले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले निर्वाचनमा आफ्नो कोही प्रतिस्पर्धी नरहेको दाबी गरे।
तर, सोही क्षेत्रमा काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दर्ता गराएसँगै यहाँको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। शाहले नगरप्रमुख पदबाट राजीनामा दिएर झापा-५ रोजेका हुन्।
यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहित आठ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत विदुरकुमार कार्कीले जानकारी दिए।
गोरखा-२ मा बाबुरामको पुनरागमन
पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्।
२०७९ को निर्वाचनमा सहभागी नभएका भट्टराईले यसपटक आफ्ना पूर्व सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेको क्षेत्रमा उम्मेदवारी दिएका हुन्। २०६४ र २०७४ मा यही क्षेत्रबाट र २०७० मा गोरखा-१ बाट निर्वाचित भट्टराईको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर रहेका छन्।
रौतहटबाटै माधव नेपालको उम्मेदवारी
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पुरानो निर्वाचन क्षेत्र रौतहट-१ बाट उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि नेता नेपालले गरिबी र बेरोजगारी अन्त्य गर्दै अर्थतन्त्र चलायमान बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताए। उनले प्रस्तावकमा रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेका छन्।
प्रचण्ड रुकुम पूर्वबाट, देउवा बाहिरिए
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन्। २०७९ मा गोरखा-२ बाट निर्वाचित दाहाल यसपटक रुकुम पुगेका हुन्।
अर्कोतर्फ, २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटक चुनावी मैदानमा देखिएनन्। पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न आन्तरिक परिस्थितिका कारण उनले उम्मेदवारी नदिएका हुन्।
भयरहित निर्वाचन सरकारको प्रतिबद्धता
निर्वाचनको मनोनयन प्रक्रिया चलिरहँदा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति गराएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा मामिलाका पत्रकारहरूसँगको छलफलमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा आइसकेको बताए।
‘विगतको तुलनामा शान्तिसुरक्षा सुदृढ छ, उच्च मनोबलका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ’, गृहमन्त्री अर्यालले भने।
उनले सूचना प्रविधिको दुरुपयोग रोक्न साइबर ब्युरो र टेलिकमको सहकार्यमा विशेष व्यवस्था गरिएको जानकारी पनि दिए। गृह सचिव राजकुमार श्रेष्ठले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गृह प्रशासन प्रतिबद्ध रहेको बताए।
माघ ६, २०८२ मंगलबार १६:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।