उम्मेदवारी दर्तापछि विष्णु पौडेलले भने- जिल्लालाई विकासको ‘रोलमोडल’ बनाउँछु

उम्मेदवारी दर्तापछि विष्णु पौडेलले भने- जिल्लालाई विकासको ‘रोलमोडल’ बनाउँछु

बुटवल : पाल्पाबाट निर्वाचन लड्ने प्रचारका बीच रुपन्देही-२ मै रहेका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर नेता पौडेलले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले रुपन्देहीलाई विकासको रोलमोडल बनाउने मुख्य उद्देश्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताए।

पौडेलले जिल्लाको विकास र समृद्धिका लागि आफ्नो प्रतिबद्धता दोहोर्याए।

उनले भने, ‘मेरो प्राथमिकता निर्माण सम्पन्न भइसकेका आयोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नु हो। साथै, हाल निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई तोकिएको समयमै सम्पन्न गर्न म प्रतिबद्ध छु।’

रुपन्देही-२ लाई एमाले उपाध्यक्ष पौडेलको सुरक्षित र प्रभावशाली क्षेत्रका रूपमा लिइन्छ। उनले यस क्षेत्रमा विगतमा सुरु गरेका विकास निर्माणका कामलाई पूर्णता दिन पुनः जनमत मागेको उल्लेख गरेका छन्।

माघ ६, २०८२ मंगलबार १६:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।