बागलुङ छाडेर नवलपरासी पश्चिम-२ झरेका पूर्वमन्त्री देवेन्द्र पौडेलद्वारा उम्मेदवारी दर्ता
परासी : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको समयमा पौडेलले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि लामो समयदेखि बागलुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका पौडेलले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरी नवलपरासी रोजेका हुन्।
नेता पौडेलले बागलुङ-२ मा आफ्नो लामो राजनीतिक विरासत कायम राखेका थिए। तर, यसपटकको निर्वाचनमा उनले रणनीतिक रूपमा क्षेत्र परिवर्तन गरेको बुझिएको छ। बागलुङको आन्तरिक शक्ति सन्तुलन मिलाउन र लुम्बिनी प्रदेशको राजनीतिमा प्रभाव विस्तार गर्न उनले नवलपरासी पश्चिम-२ रोजेका हुन्।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पौडेललाई नवलपरासीबाट उम्मेदवार बन्न टिकट प्रदान गरेपछि उनी चुनावी मैदानमा होमिएका हुन्। उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै पौडेलले पार्टीले दिएको जिम्मेवारी र जनताको चाहना अनुसार आफू नवलपरासीको विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने बताए।
नवलपरासी पश्चिम-२ मा पौडेलको उम्मेदवारीले चुनावी माहोल तताएको छ। यसअघि २०७९ को निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुवबहादुर प्रधान निर्वाचित भएका थिए। यसपटक वाम-लोकतान्त्रिक शक्तिहरू र अन्य दलहरूबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
पौडेलको उम्मेदवारीसँगै उनको पुरानो क्षेत्र बागलुङ-२ मा भने नयाँ अनुहारले अवसर पाएका छन्। साथै, पौडेलकी पत्नी बलावती शर्मालाई पार्टीले समानुपातिक तर्फको सूचीमा प्राथमिकताका साथ समावेश गरेको चर्चा पनि राजनीतिक वृत्तमा छ।
माघ ६, २०८२ मंगलबार १६:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।