निर्वाचनको रौनकले लगानीकर्तामा उत्साह : नेप्से २७ सय विन्दु पार

निर्वाचनको रौनकले लगानीकर्तामा उत्साह : नेप्से २७ सय विन्दु पार

काठमाडौं : चुनावी माहोलको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। यहि माहोलमा लगानीकर्ताको मनोबल उच्च हुँदा साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२.२६ अंकको सुधार आयो। यो वृद्धिसँगै नेप्से परिसूचक २७१४.८१ विन्दुमा कायम भयो। 

यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढ्यो भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लाग्यो। नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखियो। आइतबार ८ अर्ब ४० करोड रुपैयाँमा सीमित रहेको बजार मंगलबार ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ नाघ्यो। यस दिन ३३९ स्टकको १ लाख १५ हजार १८१ पटकको कारोबारमा २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको हो।

यस दिन गोर्खाज फाइनान्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ २० पैसाले बढेर ६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य करिब ८ प्रतिशतले उकालो लाग्यो।

यद्यपि, १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य भने यस दिन ४.२३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ४० करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यस्तै, राधी विद्युत कम्पनीको ३९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच हुँदा मञ्जुश्री फाइनान्सको कारोबार रकम ३७ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ। लगानी उपसमूह साढे २ प्रतिशतले उकालो लाग्दा बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन्।

माघ ६, २०८२ मंगलबार १५:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।