शीर्ष नेताहरूको मनोनयन दर्ता : को-कहाँबाट लड्दैछन् चुनाव ?

शीर्ष नेताहरूको मनोनयन दर्ता : को-कहाँबाट लड्दैछन् चुनाव ?

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अहिले देशभर उम्मेदवारी दर्ता भइरहेको छ। 

निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरूले आ-आफ्नो क्षेत्रबाट मनोनयन दर्ता गराएका छन्।

झापा ५ मा उच्च प्राथमिकता
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृह क्षेत्र झापा- ५ बाट उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशभर एमालेसँग प्रतिस्पर्धा गर्ने शक्ति नभएको दाबी गरे। सोही क्षेत्रमा काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन'ले पनि उम्मेदवारी दर्ता गराए। ओली र बालेनबीच प्रतिस्पर्धा हुनेभएपछि यो क्षेत्र चुनावी केन्द्रमा छ।

यसैगरी, झापा- २ बाट निवर्तमान उपसभामुख इन्दिरा राना मगरले रास्वपाबाट उम्मेदवारी दर्ता गराएकी छन् भने सोही क्षेत्रमा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरेले उम्मेदवारी दिने तयारी गरेका छन्।

प्रचण्ड रुकुम पूर्वमा, उपेन्द्र यादव सप्तरी ३ मा

नेकपाका संयोजक प्रचण्डले यस पटक गोरखा- २ छाडेर रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराए। 'क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला' भन्दै उनले मंगलबार दिउँसो मनोनयन दर्ता गराए। 

यता, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी- ३ बाट मनोनयन दर्ता गराए। यसअघि सप्तरी २ बाट पराजित भई बारा २ बाट उपनिर्वाचन जितेका यादव यस पटक पुनः सप्तरी फर्किएका हुन्।

काठमाडौंका पोखरेल र घिसिङ

काठमाडौं ५ बाट एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराए। त्यस्तै, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं- ३ बाट उम्मेदवारी दर्ता गराए। घिसिङविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजु पाण्डेलाई उम्मेदवार बनाएको छ।

सुनसरी र सर्लाहीको चुनावी सरगर्मी

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर हर्कराज राई 'साम्पाङ'ले सुनसरी- १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र राजनीतिबाट उदाएका साम्पाङले यस पटक संसदीय राजनीतिमा स्थापित हुन चुनावी मैदानमा होमिए।

सर्लाही- २ मा राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराए। महतोले यस क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। 

विभिन्न दलका शीर्ष नेताहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी बढेको छ। कतिपय क्षेत्रमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले स्थापित नेताहरूलाई चुनौती दिएका छन्। निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

माघ ६, २०८२ मंगलबार १५:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।