कांग्रेसमा टिकट नपाएपछि एमालेमा प्रवेश गरे यादव, रुपन्देही-४ बाटै चुनाव लड्ने

कांग्रेसमा टिकट नपाएपछि एमालेमा प्रवेश गरे यादव, रुपन्देही-४ बाटै चुनाव लड्ने

बुटवल : नेपाली कांग्रेसका नेता प्रमोदकुमार यादव एमालेमा प्रवेश गरेका छन्। कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि एमालेमा प्रवेश गरेका यादव रुपन्देही- ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै छन्।

आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको उनले बताए। कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ।

यादव २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-४ बाट निर्वाचित सांसद हुन्। त्यति बेला उनले कांग्रेसबाट उम्मेदवारी दिएका थिए। तर २०७९ सालको निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए।

एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ। एमालेले उनलाई स्थानीय संगठन मजबुत बनाउने र चुनावी प्रतिस्पर्धामा प्रभावकारी भूमिका खेल्ने नेताका रूपमा अघि सारेको छ।

यादवको एमाले प्रवेशले रुपन्देही-४ को चुनावी समीकरण थप रोचक बनेको छ। कांग्रेसबाट निर्वाचित भइसकेका र स्थानीयस्तरमा पहिचान बनाइसकेका यादव एमालेको तर्फबाट मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक प्रतिस्पर्धा कडा हुने आंकलन गरिएको छ।

माघ ६, २०८२ मंगलबार १३:५७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।