ओलीको ‘गढ’ मा बालेनको चुनौती : झापा-५ बाट उम्मेदवारी दर्ता

ओलीको ‘गढ’ मा बालेनको चुनौती : झापा-५ बाट उम्मेदवारी दर्ता

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र साह 'बालेन'ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। 

मंगलबार दिउँसो दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्। बालेनको उम्मेदवारीको प्रस्तावकमा भूमिनन्दन बराल र समर्थकमा भेषराज भट्टराई रहेका छन्। बालेन समर्थकहरूको ठूलो दलबलसहित मनोनयन दर्ता गर्न पुगेका थिए। समर्थकहरूको नाराबाजी र भिडका कारण केहीबेर निर्वाचन कार्यालय क्षेत्र व्यस्त बनेको थियो।

झापा-५ मा बालेनको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यो निर्वाचन क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह क्षेत्र हो, जहाँबाट उनी अघिल्लो निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका कारण यो क्षेत्र चुनावी केन्द्रमा छ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व विद्यार्थी नेता रञ्जित तामाङले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको मेयर पदमा स्वतन्त्र रूपमा विजय हासिल गरेर चर्चामा आएका बालेन यस पटक संसदीय राजनीतिमा स्थापित हुन झापा-५ बाट चुनावी मैदानमा होमिएका छन्। 

माघ ६, २०८२ मंगलबार १३:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।