अन्तर्घात रोक्न नयाँ नेतृत्वको ‘ब्यालेन्स सिट’ : सबैलाई ठाउँ, सबैको सम्मान

अन्तर्घात रोक्न नयाँ नेतृत्वको ‘ब्यालेन्स सिट’ : सबैलाई ठाउँ, सबैको सम्मान

काठमाडौं : गुटबन्दी र अन्तर्घातको श्रृंखला अन्त्य गर्न नेपाली कांग्रेसको नयाँ नेतृत्व उम्मेदवार छनोटमा सचेत र समन्वयात्मक देखिएको छ। सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पार्टीभित्रका सबै शक्ति केन्द्रलाई सन्तुलनमा राखेर उम्मेदवार छनोट गर्ने प्रयासमा देखिए।

पार्टीका पूर्व सभापति शेरबहादुर देउवा पक्ष र  डा. शेखर कोइराला पक्षबीचको दुरी घटाउँदै निर्वाचन जित्ने लक्ष्यका साथ टिकट वितरणमा कांग्रेसका सबै पक्षलाई विश्वासमा लिन 'सबैलाई ठाउँ, सबैको सम्मान'को रणनीति लिएको देखिन्छ।

कांग्रेसको राजनीतिमा साढे तीन दशकदेखि अपराजित रहँदै आएका पूर्व सभापति देउवा यस पटक चुनावी मैदानमा हुने छैनन्। थापा नेतृत्वको टोलीले देउवालाई राजनीतिबाट विश्राम लिन र अभिभावकीय भूमिका खेल्न गरेको आग्रहलाई उनले स्वीकार गरेको देखिन्छ।

लामो समयपछि उनी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएसँगै डडेलधुरामा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले टिकट पाएका छन्। देउवालाई उनकै विश्वासपात्र महरमार्फत प्रतिस्थापन गराएर थापाले देउवा पक्षभित्रको एउटा तप्कालाई चित्त बुझाउने प्रयास गरे।

पार्टीभित्रको असन्तुष्ट पक्षलाई सम्बोधन गर्न कोइराला र डा. मिनेन्द्र रिजाललाई मोरङका महत्त्वपूर्ण क्षेत्रमा टिकट दिइएको छ। मोरङ-६ मा कोइरालालाई पुनः निरन्तरता दिइएको छ भने मोरङ-२ मा रिजाललाई उम्मेदवार बनाइएको छ। अघिल्लो निर्वाचनमा गुमेको मोरङ- २ को साख फर्काउन रिजाललाई मैदानमा उतारिनु र कोइरालालाई बलियो क्षेत्र सुम्पिनुले पार्टीभित्रको आन्तरिक एकता मजबुत हुने अपेक्षा गरिएको छ।

मधेश प्रदेशमा हुने सम्भावित अन्तर्घात रोक्न कांग्रेसले धनुषा-३ मा प्रभावशाली नेता विमलेन्द्र निधिलाई अघि सारेको छ। २०७४ को पराजय र २०७९ मा समानुपातिकमा बसेका निधि यस पटक प्रत्यक्षमा चुनाव लड्दै छन्। धनुषा-२ मा दिनेशप्रसाद यादव (परसैला) लाई उम्मेदवार बनाएर पार्टीले पुराना र त्यागी नेताहरूलाई न्याय गरेको सन्देश दिन खोजेको छ।

त्यस्तै, देउवाका निकट मानिने पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नुवाकोटमा टिकट दिइएको छ। महतलाई समेट्नुको पछाडि देउवा पक्षलाई पूर्ण रूपमा आश्वस्त पार्ने र सर्वोच्च अदालतको मुद्दासँग जोडिएका कतिपय प्राविधिक पक्षमा ‘सफ्ट कर्नर’ बनाउने रणनीतिकका रूपमा हेरिएको छ।

टिकट वितरणको रस्साकस्सीका कारण मनोनयन दर्ताको अन्तिम समयसम्म पनि कतिपय क्षेत्रमा गृहकार्य भइरहेको छ। कांग्रेसले यस पटक 'टिकट नपाउनेको व्यवस्थापन'लाई उच्च प्राथमिकता दिएको बताइन्छ।

माघ ६, २०८२ मंगलबार ११:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।