ओलीको सन्देश : नेपालको जित सुनिश्चित गर्ने संकल्पका साथ अघि बढौं
काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न गृह जिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको जित सुनिश्चित गर्ने सङ्कल्पका साथ मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सुरु हुनअघि ओलीले सामाजिक सञ्जालमार्फत यस्तो सन्देश जारी गरेका हुन्।
उनले आजको दिनलाई 'विशेष दिन' र 'सपनाको रोपाइँ' सुरु भएको दिनको रूपमा चित्रण गरे। ओलीले निर्वाचनले अन्ततः नेपाल र नेपालीको जित सुनिश्चित गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउन सबै मिलेर अगाडि बढ्न आह्वान गरे।
"हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ। हामीलाई पूरा विश्वास छ- हामी नेपालीले जित्ने छौं, नेपालले जित्ने छ," उनले लेखेका छन्, "जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ।"
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको छ। १६५ वटै निर्वाचन क्षेत्रमा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरूमा उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गराउनेछन्। प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार हुन लागेको मनोनयन दर्तासँगै मुलुकभर चुनावी प्रतिस्पर्धा औपचारिक रूपमा सुरु भएको छ।
माघ ६, २०८२ मंगलबार ०९:२३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।