देउवा उम्मेदवार नबन्ने, डडेल्धुरामा महरले पाए टिकट
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवा यस पटक चुनावी प्रतिस्पर्धामा सहभागी हुने छैनन्।
देउवा निर्वाचन नलड्ने भएपछि उनको निर्वाचन क्षेत्र डडेल्धुराबाट नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाउने भएका छन्। कांग्रेसले डडेल्धुरामा यस पटक महरलाई टिकट दिँदैछ।
पार्टीभित्र पुस्तान्तरण र युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने माग उठिरहेका बेला विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई उम्मेदवारी नदिन र अभिभावकीय भूमिकामा रहन आग्रह गर्दै आएका छ।
डडेल्धुराको चुनावी इतिहासमा देउवा अपराजित रहँदै आएका थिए। पार्टीको उम्मेदवार छनोटका लागि बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले डडेल्धुराको उम्मेदवारीबारे अन्तिम टुंगो लगाउँदै महरलाई चुनावी मैदानमा उतार्ने तयारी गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मंगलबार प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ।
माघ ६, २०८२ मंगलबार ०८:५२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।