काठमाडौंको तापक्रम ४.५ डिग्री, कस्तो रहला देशभरको मौसम ?

काठमाडौंको तापक्रम ४.५ डिग्री, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं : हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशका केही भूभागमा मंगलबार आंशिक बदलीको सम्भावना देखिए पनि अधिकांश भूभागमा मौसम सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ।

महाशाखाका अनुसार न्यूनतम तापक्रमको आधिकारिक मापन बिहान ८:४५ बजे हुने गर्दछ, जति बेला तापक्रम केही फरक हुनसक्ने सम्भावना रहन्छ। मंगलबार दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ।

मंगलबार बिहान तराईका अधिकांश भूभाग बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन्। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहान ५:४५ बजे विराटनगरको भिजिविलिटी (पारदर्शिता) सबैभन्दा कम अर्थात् १०० मिटर मात्र रहेको छ। यस्तै, जनकपुरमा ५०० मिटर भिजिविलिटी मापन गरिएको छ। तराईमा लागेको बाक्लो कुहिरोका कारण सडक तथा हवाई यातायात र जनजीवन प्रभावित भएको छ।

विभागका अनुसार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली हुने सम्भावना छ। तराईका भूभागमा भने दिउँसो र राति पनि हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले दैनिक रूपमा दुई पटक मुख्य तापक्रम मापन गर्दछ। न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। मंगलबारको आधिकारिक न्यूनतम तापक्रमको विवरण भने ८:४५ को मापनपछि मात्र सार्वजनिक हुनेछ। 

माघ ६, २०८२ मंगलबार ०८:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।