मक्ख मधेस
काठमाडौं : लामो समयदेखि मधेसको राजनीति एउटा निश्चित शैली छ पहाडे राष्ट्रवाद भन्दै गाली गर्नु। मधेसलाई सधैँ पीडित देखाउनु र त्यसको कारण सधैँ केन्द्रलाई देखाउनु। अधिकारको चर्का भाषण गर्नु र प्रतिस्पर्धी दललाई गाली गर्नु। कति त स्वतन्त्र मधेस र अलग देशको नाराको बलमा राजनीतिमा उदाए। तर गरिबी, अशिक्षा र भ्रष्टाचारमा मधेस सधैँ अग्रस्थानमा रह्यो।
लामो समयदेखि मधेसमा पहाडे संस्कृति र केन्द्र सरकारलाई गाली गर्ने, अधिकारको नाममा भावना उद्वेलित गर्ने र अन्त्यमा सत्ताको बार्गेनिङ गर्ने खेल जमिरह्यो। सद्भावना पार्टीदेखि मधेसी जनअधिकारहुँदै जनमत पार्टीसम्मको नारा अलग भए पनि शैली अलग भएनन्। तर, सोमबार जनकपुरको ऐतिहासिक भूमिमा काठमाडौँ महानगरका निवर्तमान मेयर वालेन शाह नयाँ शैली र सन्देशका साथ उदाए। उनको सम्बोधनको शैलीले मधेसमा नयाँ नेताको प्रवेश मात्र गराएन मधेसमा वर्षौँदेखि चल्दै आएको "गालीको राजनीति" लाई "कामको राजनीति" ले प्रतिस्थापन गर्ने संकेत पनि गर्यो।
करिब १० मिनेट मैथिलीमा सम्बोधन गरेका बालेनले तालीका लागि कुनै दललाई गाली गरेनन्, कुनै प्रतिस्पर्धी नेतालाई गाली गरेनन्। उनले विकासका कुरा गरे, काठमाडौँ महानगरको मेयरको रूपमा आफूले गरेका केही काम सुनाए। सबैभन्दा महत्वपूर्ण आफ्नो विगतको शैली र व्यवहारका कारण संघीयता र प्रदेश संरचना विरोधीको छवि सुधार्ने प्रयास गरे।
अधिकारहीन हैन अधिकारसहितको संघीयता
बालेनले हिजोका दिनमा महानगर प्रमुखको रूपमा किन प्रदेशको पक्षमा नउभिएको प्रस्टीकरण दिएनन्। न त उनले महानगर प्रमुखको रूपमा राष्ट्रिय सभाको निर्वाचनमा किन मतदान नगरेको नै भने। उनले जनकपुरमा संघीयता विरोधी छवि रणनीतिक रूपमा चिरे। उनले प्रदेश खारेजीको कुरा गरेनन्, बरु ‘अधिकार सम्पन्न प्रदेश’ को वकालत गरे।
"जनकपुरको मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाडौँ धाउनुपर्ने कस्तो संघीयता हो ?" उनको यो प्रश्नसँगै ताली बज्यो। अधिकार खोज्ने मधेसको राजधानी जनकपुरमा हो काठमाडौँमा हैन भन्दै उनले जब काठमाडौं अधिकार खोज्न हैन घुम्न जाने हो भन्दै सङ्घीयतालाई गाली गर्नुको साटो, केन्द्रले मुठ्ठीमा राखेको प्रदेशको अधिकार प्रदेशमा ल्याएर बलियो बनाउनुपर्ने पक्षमा उभिए।
उनको यो सम्बोधनले उनको संघीयताप्रतिको धारणामा संशय गर्नेहरू समेत प्रस्ट भए नै आफूलाई संघीयता विरोधी भन्नेहरूलाई पनि गाली नगरी अनि छुद्र वचन नबोली जवाफ दिए।
मैथिली लवज र ‘कनेक्सन’
बालेनले करिब १० मिनेट मैथिली भाषामा सम्बोधन गरे। रोचक कुरा के थियो भने, उनको मैथिलीमा कुनै 'कथित उच्च जातीय' लवज थिएन, बरु आम सर्वसाधारणले बोल्ने सरल भाषा थियो। यसले उनलाई मधेसको 'पुत्र' का रूपमा स्थापित गर्न मद्दत गर्यो। उनले मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेर मधेसको बलिदानी इतिहासप्रति सम्मान मात्र जनाएनन्, त्योसँगै आफूलाई मधेसको भावनासँग समेत जोडे।
रवि र बालेन: फरक शैली, फरक दृष्टिकोण
उनी वरिष्ठ नेता बनेको रास्वपाको उदय र यसका स्थापित नेताहरूको शैली निरन्तर पुराना दल अनि पुराना नेताहरूलाई गाली गर्नु नै हो। आफू बाहेक सबै खराब भन्ने भाष्य निर्माणमा उनीहरू समय खर्चिन्छन्। तर छोटो समयमै आफ्नो शैली पनि उही पुरानै दल र तीनका नेता भन्दा भिन्न देखाउन सकेनन्।
चौथो दलको रूपमा पहिलो पटक संसदमा प्रवेश गर्दा जिम्मेवार प्रतिपक्षी प्रतिपक्षी बन्न छाडेर पटक पटक माओवादीको नेतृत्वमा सरकार बनाउन एमालेको रणनीति अनुसार सरकारमा सहभागी भए। मन्त्री भए। पदमा रहँदा आफ्नो स्वार्थका निर्णयमा संलग्न भए। तै पनि अझैँ उनीहरूले पुरानो दल र ती दलका नेता भन्दै गाली गर्न छाडेका छैनन्।
सोमबारै बालेनकै मञ्चमा सम्बोधन गरेका रास्वपाका नेताहरूको शैली उस्तै थियो। उनीहरू आफ्नो भिजनमा हैन दोषजति सबै पुराना दल र नेताहरूलाई थुपारेर आफूलाई भने चोखो भएको दाबी गरिरहेका थिए।
वालेनपछि सम्बोधन गरेका पार्टी सभापति रवि लामिछानेले 'प्रतिरक्षात्मक' र 'आक्रामक' भाषण गरे। उनले अधिकांश समय सहकारी मुद्दाको बचाउ र पुराना दलका नेताहरूलाई गाली गर्नमै समय खर्च गरे। वालेनसँगको आत्मीय सम्बन्ध बताउन उनले स्वर्गीय आमाको फोटोसँग कुरा गरेको र आमाको फोटोले बालेनले देश बनाउँछ भनेको जस्ता काल्पनिक कथा सुनाए जसको त्यो भिडमा कुनै अर्थ थिएन।
त्यसको विपरीत वालेन 'सिर्जनात्मक' र 'संयमित' सुनिए। उनले कसैलाई गाली गरेनन्। बरु उखु किसान र मिटरब्याजी पीडितका मुद्दामा काठमाडौँमा हुँदा आफूले महसुस गरेको लाचारी सुनाए र आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाए।
मधेसको नियति र वालेनको उदय
२०६४ देखि २०७९ सम्म मधेसले धेरै शक्तिहरूलाई परीक्षण गर्यो। माओवादी, मधेसवादी दल, जनमत पार्टी। सबैलाई मधेसले 'अधिकार' का लागि विश्वास पनि गर्यो, तर आर्थिक-सामाजिक सूचकाङ्कमा मधेस सधैँ पछाडि नै रह्यो। मधेसका मतदाताले प्राय सधैँ नयाँलाई विश्वास गर्छन्। मधेस आन्दोलनपछि पुराना दललाई पाखा लगाउँदै मधेस केन्द्रित दललाई केन्द्रमा राम्रो शक्तिका साथ पठाएकै हुन्। तर ती मधेसको आर्थिक, सामाजिक र शैक्षिक सुधारमा भन्दा सत्ताको भागबन्डामा रमाए।
२०७९ कै निर्वाचनमा सिके राउतको जनमत पार्टीलाई नयाँ दलका रूपमा बलियोगरी उदाए गराएकै हुन्। तर आन्तरिक खिचातानीले तीन वर्षमै जनमत पनि पुरानो दलकै श्रेणीमा पुग्यो। गत निर्वाचनमा मधेसमा रास्वपाले प्रयास नगरेको हैन। मनिष झा जस्ता नेपाली कांग्रेसमा खाइखेली राजनीतिमा भिजेका नेता रास्वपामा थिए नै। तर उनीहरूको कुनै प्रभाव परेन।
तर यस पटक बालेनको मुहारले मधेसमा रास्वपा नयाँ मात्र हैन बलियो शक्तीको रूपमा उपस्थित भएको एकै दिनको सभाले देखाइदियो। त्यसको प्रभाव उनै मनिषमा देखियो। सधैँ रवि लामिछानेको नाम लिएर नथाक्ने उनी सोमबार बालेनको नाम लिँदै अब बालेनसँग मिलेर देश बनाउने भनिरहेका थिए।
परस्पर प्रतिस्पर्धी नारा
सोमबारको सभाको अर्को रोचक पक्ष एकै दल भए पनि दुई नेताको पक्षमा फरक फरक नारा लागिरहेका थिए। रविको पक्षमा उही २०७९ देखिकै "रवि दाइ हाई-हाई" को नारा लागिरहेको थियो। तर यो धेरै मधुरो सुनिएको थियो। सभामा चर्को नारा थियो "अबको बार, बालेन सरकार।"
काठमाडौँ त भारतको राजनीतिबाट प्रभावित हुन्छ भने सीमा जोडिएको मधेसमा भारतको प्रभाव नपर्ने प्रश्नै रहेन। बालेनको पक्षमा माहोल बनाउन जुन नारा चलाइएको छ त्यो भारतमा विजेपीको उदयका लागि भारतीय जनता पार्टीले सुरु गरेको "अबकी बार मोदी सरकार" को सिधै नक्कल थियो। तै पनि सभामा उपस्थितहरू यो नारा लगाउँदा रमाइरहेका थिए। उनीहरू मक्ख थिए।
रवि दाइ हाइहाइको नाराले भिडमा प्रभाव नपरेपछि रविले पनि उही 'अबकी बार बालेन सरकार' को नारा लगाए। मधेसमा त यो नारा चल्न नि सक्छ। स्वीकार्य हुन पनि सक्छ। तर पहाडी र शहरी क्षेत्रका मतदातालाई त्यही नाराले आकर्षित गर्न गाह्रो छ। पहाडी र शहरी क्षेत्रका मतदातालाई आकर्षित गर्ने शैली वालेनशैली भने हुन्छ-अर्कालाई गाली हैन आफ्नो योजना र रणनीति बताउने।
पुरानै पथको जोखिम
वालेनले चर्को गालीको साटो आफ्नो योजनाको बलमा निर्वाचनमा होमिए पनि अमरेश कुमार सिंह जस्ता नेतालाई गाइडको रूपमा स्वीकार गरेको नमिठो दृश्य पनि देखियो। नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसादसँग निकट भएर संविधान सभाबाट संसद् प्रवेश गरेका उनी निरन्तर संसदीय राजनीतिमा छन्।
गत निर्वाचन अगाडि कांग्रेसले अनुशासनको कारबाही गरेपछि स्वतन्त्र उम्मेदवारी दिएर जितेपछि उनी दलका नेताप्रति निकै आक्रामक बन्न थाले। संसदमै कपडा खोलेर नौटङ्की गरेका उनी तथ्यहीन तर्कमा रमाउँछन्।
संसदमा वालेनलाई नाजीवादी भन्दै विरोध गर्ने उनी जेनजी आन्दोलनपछि बदलिएको माहौलमा संसद्को यात्रा जारी राख्न रास्वपा प्रवेश गरेर मधेसमा वालेनको गाइड बनिरहेका छन्।
अमरेश मधेसको राजनीतिको विकृतिको पात्र हुन्। उनलाई गाइड बनाएर सुधारको भाषण गर्दा त्यति सुहाउँदो भने देखिन्न।
अन्त्यमा, सोमबार बालेनले जनकपुरबाट एउटा स्पष्ट सन्देश दिए, मधेसलाई अब अधिकारको नाममा केन्द्रसँग लडाइने मात्र होइन, विकास र सुशासनका नाममा केन्द्रलाई चुनौती दिन सक्ने बनाउनुपर्छ। यदि उनले यो 'भिजन' लाई भोटमा बदल्न सके भने आगामी निर्वाचनमा मधेसको परम्परागत राजनीतिक गढ भत्किन सक्छ।
तर त्यसका लागि जनकपुरको दृश्य मात्र। काफी छैन। यो बलियो प्रारम्भ भने हो।
माघ ६, २०८२ मंगलबार ०२:१४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।