देउवा दम्पती नै उम्मेदवारबाट बाहिर, देउवा समूहका अन्य नेताले टिकट लिए

देउवा दम्पती नै उम्मेदवारबाट बाहिर, देउवा समूहका अन्य नेताले टिकट लिए

काठमाडौं : नेपाली कांग्रेसबाट यस पटक निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा दुवै उम्मेदवार नहुने भएका छन्। जेनजी आन्दोलनपछि अब सक्रिय राजनीति गर्दिन भने पनि देउवाले पुन अन्तिम पटक डडेलधुराबाट उम्मेदवार बन्ने तयारी गरेका थिए। तर पार्टीको विशेष महाधिवेशनबाट नेतृत्व बदलिएको र सोही नेतृत्वलाई निर्वाचन आयोगले मान्यता समेत दिएपछि आगामी फागुन २१ को निर्वाचनमा देउवा दम्पती नै बाहिरिएका छन्।

विशेष महाधिवेशनबाट नेतृत्व बदल्ने तयारीकोक्रममा देउवा समूहसँगको छलफलमा गगन थापा र विश्वप्रकाश शर्माले राखेका विभिन्न सर्तमा देउवा उम्मेदवार नहुने सर्त समेत थियो। टिकट वितरणकोक्रममा आरजु उम्मेदवार बन्ने कैलाली ५ मा पहिल्यै नरनारायण शाहलाई टिकट दिने निर्णय गरिसकेको छ। निर्वाचन आयोगको निर्णयको विरोधमा सर्वोच्च अदालत गएकाले पूर्णबहादुर खड्का समेत यस पटक उम्मेदवार नबन्ने भएका छन्।

तर देउवा समूहका प्रकाशशरण महत, एनपी साउद अनि विजयकुमार गच्छदार भने उम्मेदवार बन्ने भएका छन्। शेखर समूहका नेताहरुले पनि धमाधम उम्मेदवारीको अनुमती पत्र लिइरहेका छन्। कांग्रेसले सबै क्षेत्रको उम्मेदवार टुंग्याउन भने सकेको छैन।

माघ ६, २०८२ मंगलबार ०१:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।