राप्रपामा कमल थापा काठमाडौँ छिरे, जेनजी रविकिरण सुर्खेत-१ का उम्मेदवार
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि एक सय ६० जना उम्मेदवारको नाम टुङ्ग्याएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार हालसम्म १६० निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगो लागिसकेको छ। बाँकी क्षेत्रको नाम पनि भोलि मंगलबार बिहानसम्म टुङ्ग्याउने तयारी छ।
राप्रपाका अधिकांश शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको टुंगो लागिसकेको छ। काठमाडौँ-१ मा रवीन्द्र मिश्रको उम्मेदवारीबारे विवाद भए पनि अन्तमा उनैलाई टिकट दिइएको छ। यस अगाडि मिश्र दुई पटक सो क्षेत्रमा उम्मेदवार बनेर पराजित भइसकेका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट उम्मेदवार बन्दा कमल थापा भने मकवानपुर छाडेर यस पटक काठमाडौँ-५ मा आएका छन्।
उपाध्यक्षहरूमध्ये बुद्धिमान तामाङ पुरानै धादिङ–२, विक्रम पाण्डे चितवन–३, ध्रुवबहादुर प्रधान नवलपरासी–२ र हेमजंग गुरुङ कास्की–२ बाट चुनाव लड्ने तय भएको छ। महामन्त्री कुन्ती शाही दैलेख–१ बाट उम्मेदवार बन्नेछिन्। प्रभावशाली नेता धवल शमशेर राणा भने यसपटक चुनाव लड्ने छैनन्।
निवर्तमान सांसदहरूमध्ये दीपकबहादुर सिंह मकवानपुर–१, ज्ञानेन्द्र शाही जुम्ला, बिना जैलवाल पर्सा–२ र अनिता नेपालीले सल्यानबाट उम्मेदवारी दिँदैछन्। राप्रपाले नेता दीपक बोहराका छोराहरू प्रज्वल र गौरवलाई रुपन्देहीका क्रमशः क्षेत्र नं. १ र ३ बाट उम्मेदवार बनाएको छ। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्द बैतडीबाट चुनावी मैदानमा उत्रिने भएका छन्।
सैनिक पृष्ठभूमिबाट आएका पूर्वकर्णेल राजेन्द्र चन्द दार्चुला र रघुबरराज थापा ललितपुर–२ बाट उम्मेदवार बन्नेछन्। अभिषेक जोशी तनहुँ–१ र इन्जिनियर गोपीकृष्ण चौलागाईँ सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बन्ने भएका छन्।
कुन्तीदेवी पोखरेल (काठमाडौं–२), उद्धवराज भेटवाल (काठमाडौं–६), सजिना कार्की (ललितपुर–१) उम्मेदवार बन्नेछन्। झापामा प्राडा हेमराज कार्की (क्षेत्र १), स्वागत नेपाल (क्षेत्र २), भक्ति सिटौला (क्षेत्र ४) र लक्ष्मीप्रसाद सङ्ग्रौला (क्षेत्र ५) को नाम तय भएको छ। नेपालले नयाँ दल दर्ता गरे पनि अन्तमा राप्रपाबाट टिकट लिएका छन्।
सुर्खेत–१ बाट रविकिरण हमाल, नवलपरासी–१ बाट नवनीतकुमार मिश्र, काभ्रे–२ बाट रञ्जित श्रेष्ठ, रुपन्देही–२ बाट कार्बिका थापा, इलाम–१ बाट ज्वाला नेपाल र धनुषा–१ बाट मनोज मल्ल ठकुरी उम्मेदवार बन्ने भएका छन्।
माघ ६, २०८२ मंगलबार ००:२६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।