हिजो वालेनलाई 'नाजीवादी' देख्ने अमरेश, आज प्रधानमन्त्री बनाउन आत्मदाहका लागि तयार !

हिजो वालेनलाई 'नाजीवादी' देख्ने अमरेश, आज प्रधानमन्त्री बनाउन आत्मदाहका लागि तयार !

काठमाडौं : सोमबार जनकपुरधाममा आयोजित  ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधनमा सोमबारै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले वालेन साह अब प्रधानमन्त्री बन्ने घोषणा गरे। आफ्नै पार्टीको कार्यक्रममा यती घोषणा गर्नु नौलो भएन।

तर उनी यतिमै रोकिएनन्। आफ्नो पुरानै स्वभाव अनुसार उनले आत्मदाहकै चेतावनी दिए। "हामी सीता माताका सन्तान हौं। सीता माता यही धर्तीमा समाहित भएकी थिइन्," उनले भने, "वालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु। म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।"

नेपाली राजनीतिमा निकै शंकास्पद रुपमा हेरिने अमरेशको यो शैली नौलो पनि हैन। नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका उनलाई पार्टीले अनुशासनको कार्वाही गरेपछि गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका जितेदेखि संसददेखि सार्वजनिक मञ्चहरुमा यस्तै बेतुके दाबी गर्दै आएका नै छन्।

रोचक के भने रास्वपामा प्रवेश गरेपछि आफ्ना वरिष्ठ नेता वालेनको प्रशंसामा ज्यान फाल्ने भनिरहेका नेता सिंह कुनै समय उनै वालेनका कट्टर आलोचक थिएृ। मधेस पुत्र भनेर सोमबार हात डोर्याउदै हिँडेका अमरेशका लागि वालेन मधेसका लागि गद्दार थिए।

यसको प्रारम्भ भएको थियो महानगरपालिकाले काठमाडौंको कवाडी व्यवसायलाई व्यवस्थित गर्न भन्दै शुरु गरेको अभियान। अनधिकृत र शहरी क्षेत्रमा रहेका कवाड संकलन केन्द्र हटाउन महानगरले बल प्रयोग गरेको थियो। यसको विरोधमा कवाड व्यवसायीहरु आन्दोलित समेत भए। 

फुटपाथमा व्यापार गर्नेहरुलाई पनि नगर प्रहरीले लखेटिरहन्थ्यो। त्यसैको विरोधमा अमरेशले वालेनको चर्को विरोध गर्दै
सङ्घीय सरकारले समेत  कवाड र फुटपाथ व्यवसायीलाई कन्ट्रोल गर्न नसकेको अवस्थामा मेयरको मात्रै औकात नभएको भन्दै विरोध गरेका थिए।

उनले २०८० फागुन २८ को प्रतिनिधि सभाको बैठकमा भनेका थिए, "कहिले फुटपाथको व्यापारीलाई त्रसित बनाउने, टाउको फुटाउने, कहिले कवाडीहरूलाई हटाउने। यो कुनै मेयरले बनाएको काठमाडौं होइन, सङ्घीय राजधानी हो। यहाँ एउटा गरिब पनि बस्न पाउँछ, चेपाङ पनि बस्न पाउँछ। काठमाडौंको मेयरलाई भन्न चाहन्छु मेयरबाट यस्तो हर्कत हट्नुपर्छ। नत्र काठमाडौं संघर्षको मैदान हुन्छ। न त सङ्घीय सरकारको कन्ट्रोलमा हुन्छ, मेयरको त कुनै औकात नै छैन।"

सो प्रतिनिधिसभा बैठकमा सिंह यतिमा मात्रै रोकिँदैनन्, धरपकड गर्दा कवाड व्यवसायी वसन्त नेपाली घाइते भएर ट्रमा सेन्टरमा भर्ना भएको र केही व्यवसायीहरू घाइते भएको भन्दै उनले बालेनलाई सक्छौं भने सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउन च्यालेन्ज दिए। 

सिंहले भनेका थिए, "यिनीहरू कोही शासक छैनन्, जो घाइते भएका छन्। म बालेन शाहलाई चुनौती दिन्छु, हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन।"

काठमाडौंको मेयर भएको बखत वालेनलाई नाजीवादी देख्ने उनै सिंह अहिले वालेनलाई नेपाली कांग्रेसका बीपी र गिरिजाको जस्तो निष्ठा भएको व्यक्तिको रूपमा देख्न थालेका छन्। माघ ५ गते एउटा अन्तरवार्तामा सिंहले भनेका छन्, "बीपी र गिरिजाको  जस्तो निष्ठा देखेर वालेनको सिपाही बने।"

यति मात्रै हैन अब उनी तीनै वालेनलाई प्रधानमन्त्री बनाउन कस्सिएका छन्। मधेसमा वालेनलाई डोर्याउदै छन्। तर मधेसका मतदातालाई नजिताए आत्मदाह गर्छु भनेर तर्साउन थालेका छन्। यो त अमरेशको नौटंकीको प्रारम्भ मात्र हो। फागुन २१ आउन अझै डेढ महिना बाँकी छ। यो बीचमा उनले वालेनलाई के के पगरी दिन्छन् त्यो राजनीतिक वृत्तमा पक्कै रोचक हुने नै छ।

 

माघ ५, २०८२ सोमबार २३:०९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।