रास्वपा तेह्रथुममा पहिरो : असन्तुष्ट नेताहरुले दिए सामूहिक राजीनामा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेह्रथुममा विवाद भएको छ। पार्टीको केन्द्रीय नेतृत्वले उम्मेदवार चयन प्रक्रियामा स्थानीय भावना र स्थापित विधिलाई बेवास्ता गरेको भन्दै जिल्ला नेतृत्वसहित सबै स्थानीय तहका समितिहरूले सामूहिक राजीनामा बुझाएका हुन्।
माघ ५ गते पार्टीका केन्द्रीय सभापतिलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा जिल्ला कार्यसमिति, सबै पालिका समिति र वडा समितिका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।
राजीनामा पत्रमा उल्लेख भएअनुसार, आगामी निर्वाचनका लागि तेह्रथुममा 'अवेयर तेह्रथुम'का संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई साझा उम्मेदवारका रूपमा अगाडि बढाउने जिल्लास्तरमा राजनीतिक सहमति भएको थियो। सोही सहमति र पार्टीको नियमित प्रक्रिया बमोजिम प्रदेश र केन्द्रमा औपचारिकता पूरा गरिएको दाबी गरिएको छ।
तर, पार्टी केन्द्रले जिल्ला र प्रदेश समितिको सिफारिस तथा भावना विपरीत अमुक व्यक्तिलाई उम्मेदवारको टिकट दिएपछि विवाद उत्पन्न भएको हो। विज्ञप्तिमा भनिएको छ, "पार्टीले आफैँले पारित गरेको उम्मेदवार छनोट प्रक्रियाभन्दा बाहिर गएर निर्णय गर्दा पार्टीको विधि र पद्धतिमाथि नै प्रश्न उठेको छ। यसले तेह्रथुमको जनभावना र स्थानीय राजनीतिक सहमतिमा गम्भीर आघात पुऱ्याएको छ।"
केन्द्र र प्रदेशसँग समन्वय गरी गरिएको राजनीतिक सहमति कार्यान्वयन गराउन नसकेको भन्दै नैतिक जिम्मेवारी लिँदै जिल्ला कार्यसमिति, ६ वटै पालिका समिति र सबै वडा समितिले सामूहिक राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा जिल्ला कार्यसमिति तेह्रथुमका सभापति सुमन खत्री, म्याङलुङ नगरपालिका, लालिगुराँस नगरपालिका, मेन्छयायेम गाउँपालिका, छथर गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका पालिका समिति तथा सबै वडा कमिटीका पदाधिकारीहरू रहेका छन्। साथै केन्द्रीय सम्पर्क विभाग तेह्रथुमका संयोजक गुणनिधि अङ्तोलाले पनि राजीनामा दिएका छन्।

माघ ५, २०८२ सोमबार २०:५८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।