नेपालमा टिकटकको कारबाही : तीन महिनामा हटाइए २८ लाखभन्दा बढी भिडियो
काठमाडौं : टिकटकले नेपालमा २८ लाख २९ हजार ६१२ वटा भिडियो हटाएको छ। सन् २०२५ को तेस्रो त्रैमासिक (जुलाई-सेप्टेम्बर) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै टिकटकले सामुदायिक निर्देशिका उल्लंघन गर्ने भिडियोहरू हटाइएको जनायो।
नेपालमा सामग्री हटाउने दर अत्यन्त प्रभावकारी देखिएको छ। रिपोर्टअनुसार हटाइएका भिडियोमध्ये ९९.७ प्रतिशत टिकटकले आफैँ पहिचान गरेको थियो भने ९८ प्रतिशत सामग्री अपलोड भएको २४ घण्टाभित्रै हटाइएको थियो।
विश्वव्यापी रूपमा सोही अवधिमा २० करोड ४५ लाखभन्दा बढी भिडियो हटाइएका छन्, जुन कुल अपलोडको ०.७ प्रतिशत मात्र हो। यसबाहेक टिकटकले ११ करोड ८६ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले चलाएको आशंकामा २ करोड २२ लाखभन्दा बढी खाताहरू खारेज गरेको छ।
कारबाहीमा परेका सामग्रीहरूमध्ये सबैभन्दा बढी ३४.४ प्रतिशत एआई (कृत्रिम बुद्धिमत्ता) बाट सिर्जना गरिएका र ३२.९ प्रतिशत गलत सूचना प्रवाह गर्ने भिडियोहरू रहेका छन्। त्यस्तै, ३० प्रतिशत वयस्क विषयवस्तु र १५.७ प्रतिशत सुरक्षा तथा सभ्यता सम्बन्धी मापदण्ड उल्लंघनका कारण हटाइएका हुन्। डिजिटल सुरक्षा र पारदर्शिताप्रति प्रतिबद्ध रहँदै कम्पनीले नियमित रूपमा यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको जनाएको छ।
माघ ५, २०८२ सोमबार १९:०९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।