हिजो मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न नदिने वालेनको आज जनकपुरमा झरेको 'आँसु'
काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख वालेन्द्र शाह 'वालेन'ले मधेसका मिटरब्याज र उखु किसानका पीडामा आफू 'मूकदर्शक' बन्नुपरेको बताए। सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले स्थानीय सरकारको सीमित अधिकारका कारण आफूले चाहेर पनि माइतीघरमा प्रदर्शन गर्न आइपुगेका पीडितको पक्षमा काम गर्न नसकेको बताए।
वालेनले भने, "तपाईंहरू काठमाडौंको माइतीघरमा आएर महिनौंसम्म आन्दोलन गर्नुभयो। उखु किसान र मिटरब्याज पीडितहरू त्यहाँ रोइरहँदा म त्यो नगरको मेयर थिएँ, तर मैले टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न सकिनँ।"
वालेनले अहिले पीडितहरूप्रति सहानुभूति दर्साइरहँदा २०७९ साल चैतको स्थिति भने फरक थियो। तराईंका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू बस्नका लागि खुलामञ्च प्रवेश गर्न खोज्दा काठमाडौं महानगरको नगर प्रहरीले उनीहरूलाई गेटमै रोकेको थियो।
नगर प्रहरीले खुलामञ्च प्रवेशमा अवरोध गरेपछि पीडितहरूले पूर्वमेयर वालेनविरुद्ध नाराबाजीसमेत गरेका थिए। उनीहरु खुल्लामञ्चलाई आफू बस्ने शिविरको रुपमा प्रयोग गर्न चाहन्थे। तर महानगरले छिर्नै नदिएपछि पीडितहरु सडक पेटीमा बसेका थिए।
त्यो बेलामा वालेनले सामाजिक सञ्जालमार्फत मिटरब्याज पीडितको आन्दोलनमा भने ऐक्यबद्धता जनाएका थिए, तर खुलामञ्चमा उनीहरूको प्रवेशलाई 'शंकास्पद' भनेका थिए। उनले त्यतिबेला भनेका थिए, "खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन। तर, माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न लागिएको तयारीहरू शंकास्पद छन्।"
तर, सोमबार सभालाई सम्बोधनको क्रममा उनले आफू मेयर मात्र हुँदा पीडितको आँसु पुछ्न नसकेको र अब त्यो अधिकार प्रयोग गर्ने ठाउँ (प्रधानमन्त्री) सम्म पुग्ने आकांक्षा व्यक्त गरे।
"अब मेयर भएर मात्र पुग्दैन, त्यो ठाउँमा पुगेर तपाईंहरूको आँसु पुछ्न चाहन्छु," उनले भने।
जनकपुरमा वालेनले आफूलाई 'अधिकारविहीन मेयर' का रूपमा चित्रण गर्दै पीडितको आँसु पुछ्न नसकेकोमा पश्चात्ताप प्रकट गरे पनि अधिकार क्षेत्रभित्रै रहेको 'खुलामञ्च' जस्तो सार्वजनिक स्थलमा पीडितलाई ओत लाग्न समेत नदिएको विगतको घटनाले उनको वर्तमानको भावुकतामाथि प्रश्न उठाउने ठाउँ दिएको छ।
माघ ५, २०८२ सोमबार १८:०४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।