हामी संघीयता विरोधी होइनौं, विकृति पखाल्न चाहन्छौं : स्वर्णिम वाग्ले

हामी संघीयता विरोधी होइनौं, विकृति पखाल्न चाहन्छौं : स्वर्णिम वाग्ले

जनकपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले प्रदेशसभाको वर्तमान अवस्था र कार्यशैलीप्रति टिप्पणी गर्दै यसमा प्रणालीगत सुधारको आवश्यकता औँल्याएका छन्।

सोमबार जनकपुरधाममा आयोजित रास्वपाको 'परिवर्तन उद्घोष सभा'मा उनले राजनीतिक दलहरूले प्रदेशसभालाई नेता व्यवस्थापन गर्ने थलोका रूपमा प्रयोग गरेको आरोप लगाए। उनले भने, "हामी संघीयताप्रति अटुट रूपले प्रतिबद्ध छौं। तर दलहरूले यसलाई कहिले पनि संघीय संसदमा पुग्न नसक्ने नेताहरूलाई पार्किङ गर्ने संरचना बनाएका छन्।"

उनले सङ्घीय संसद् र स्थानीय तहको बीचमा प्रदेशसभा कृत्रिम खालको अपरिपक्व अभ्यासका रूपमा रहेको जिकिर गरे। "केन्द्रको नक्कल गरेर प्रदेशसभामा थोपरिएका प्रणाली सुधारेर अगाडि जानुपर्नेछ," उनले भने, "काण्डै काण्डको भारी बोकेको र सयौं मन्त्री बनाएको यो प्रदेशसभाले नतिजा दिन सकेको छैन।"

रास्वपा सङ्घीयता विरोधी रहेको भन्ने चर्चाको खण्डन गर्दै वाग्लेले संविधानको खाकाभित्रै रहेर सुधार गरिने स्पष्ट पारे। 

उनले थपे, "अहिलेको संघीय ढाँचामा सुधार चाहिएको छ। रास्वपाले अहिले भएका सात वटा प्रदेशलाई तलमाथि गर्ने छैन। हामी संघीयताका नाममा गरिएका बदमासी र विकृतिलाई पखाल्छौं। संविधानकै खाकाभित्र रहेर, संविधानकै धारामा रहेर सुधार गर्छौं।"

उनले रास्वपा सबै नेपालीको समतामूलक उन्नति र सामाजिक न्यायसहितको विकासको पक्षपाती पार्टी रहेको समेत दाबी गरे।

माघ ५, २०८२ सोमबार १६:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।