मधेश पुगेर बालेनले सोधे- के मेरो काम हेर्न चाहनुहुन्छ ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएको बताए। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको 'परिवर्तन उद्घोष सभा'मा उनले उक्त कुरा बताए।
बालेनले भने, "म काम गर्ने मान्छे हुँ, भाषण होइन। के तपाईंहरू काम गरेको हेर्न चाहनुहुन्छ ?" काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा आफूले गरेको कार्यसम्पादनको उदाहरण दिँदै उनले जनकपुरमा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।
"काठमाडौंवासीले मेरो काम देखिसकेका छन्," उनले प्रश्न गरे, "अब यहाँहरू पनि मेरो काम हेर्न चाहनुहुन्छ ?" उनले रास्वपाको प्रदेश नीतिबारे भइरहेका आलोचनाहरूको पनि जवाफ दिए। उनले पार्टीले प्रदेश संरचना खारेज नभई यसलाई थप सशक्त बनाउन चाहेको स्पष्ट पारे।
बालेनले भने, "राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश नीतिप्रति धेरैले आलोचना गर्छन्। तर म भन्न चाहन्छु- हामी प्रदेशलाई अझ बलियो बनाएर लैजाने पक्षमा छौं। प्रदेशको काम घरमा गएर धारा जोड्ने मात्र होइन, त्योभन्दा माथि उठ्नुपर्छ।"
माघ ५, २०८२ सोमबार १६:४२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।