अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश

अमरेशकुमार सिंह र रहबर अन्सारी रास्वपामा प्रवेश

काठमाडौं : प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र नेपाली कम्युनिष्ट पार्टी र मधेश प्रदेशसभा सदस्य त्यागेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आइतबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित 'परिवर्तन उद्घोष सभा' का बीच उनीहरू रास्वपामा प्रवेश गरेका हुन्।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह 'बालेन'ले सिंह र अन्सारीलाई पार्टी प्रवेश गराए। सर्लाहीबाट स्वतन्त्र रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सिंह पछिल्लो समय संसदमा भ्रष्टाचार र सुशासनका मुद्दामा प्रखर रूपमा प्रस्तुत हुँदै आएका थिए।

यस्तै, तत्कालीन माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएका अन्सारीले केही समयअघि मात्रै पार्टी परित्यागको घोषणा गरेका थिए। अन्सारीले गत पुस २४ गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र पठाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए। 

उनीहरूको प्रवेशले मधेशमा रास्वपाको सांगठनिक विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ। सभापति लामिछाने र वरिष्ठ नेता बालेन लगायतका रास्वपाका शीर्ष नेताहरू सभालाई सम्बोधन गर्न सभा स्थल पुगिसकेका छन्। 

माघ ५, २०८२ सोमबार १६:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।