चुनावी मैदानमा होइन, फिल्मको 'सेट'मा रेखा : राप्रपाबाट दुरी कि विश्राम ?
काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै नेता तथा कार्यकर्ताहरू चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य तथा अभिनेत्री रेखा थापा भने यस पटक पार्टीका कार्यक्रममा देखिएकी छैनन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मोरङ- ३ बाट उम्मेदवार बनेर १० हजारभन्दा बढी मत प्राप्त गरेकी थापाको यस पटकको निष्क्रियताले धेरैलाई आश्चर्यमा पारेको छ। दलगत राजनीतिक गतिविधिमा निष्क्रिय जस्तै देखिएकी थापा यति बेला चलचित्र क्षेत्रमा भने सक्रिय छन्।
उनी अहिले आफ्नै निर्देशनमा निर्माण हुन लागेको एक नयाँ (नाम नखुलाइएको) फिल्मको तयारीमा जुटेकी छन्। उक्त फिल्मको छायांकन माघको अन्तिम साताबाट सुरु गर्ने तयारी रहेको बुझिएको छ।
यसका साथै, आगामी चैत २७ गते प्रदर्शनको तयारीमा रहेको उनीद्वारा निर्मित फिल्म ‘३६ को आँकडा’को प्रचारप्रसारमा पनि व्यस्त हुनेछिन्। त्यस्तै, विक्की अग्रवाल र श्रद्धा प्रसाईद्वारा निर्मित फिल्म ‘क का कि की’मा मुख्य भूमिकामा रहेकी रेखाले उक्त चलचित्रको डबिङ र प्रमोसनका लागि समय छुट्याएकी छन्।
आधा दर्जनभन्दा बढी फिल्म सम्झौता गरेकी रेखा छिट्टै एक रियालिटी शोको निर्णायक (जज) का रूपमा पनि देखिने चर्चा छ। यो कार्यतालिका हेर्दा उनी आगामी दुई वर्षसम्म फिल्म क्षेत्रमै व्यस्त रहने देखिन्छ।
रेखाले सामाजिक सञ्जालमार्फत बालविवाह र दाइजो प्रथाविरुद्ध आवाज उठाइरहे पनि आसन्न निर्वाचन र राप्रपाका गतिविधिमा कुनै प्रतिक्रिया जनाएकी छैनन्।
पार्टीको जिम्मेवारीमा रहेर पनि उनको निष्क्रियता र फिल्म क्षेत्रमा देखिएको सक्रियताले उनी राजनीतिबाट टाढिएको वा पार्टी नै छाड्न लागेको हो कि भन्ने अड्कलबाजी सुरु भएको छ। यद्यपि, रेखा थापा स्वयंले भने पार्टी परित्याग वा राजनीतिक भविष्यबारे आधिकारिक धारणा सार्वजनिक गरेकी छैनन्।
माघ ५, २०८२ सोमबार १५:३७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।