डिजिटल प्रचारले पुगेन, अब मैदानमै उत्रियो ‘रमिताको पिरती’

डिजिटल प्रचारले पुगेन, अब मैदानमै उत्रियो ‘रमिताको पिरती’

काठमाडौं : आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ले प्रचारप्रसारका लागि सांगीतिक कन्सर्टको शैली अपनाएको छ। सामाजिक सञ्जालको प्रचार मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै निर्माण पक्षले मोफसल दौडाहा सुरु गरेको हो।

यसै क्रममा बुटवलमा आयोजित कन्सर्टका बीच चलचित्रमा समावेश ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरिएको छ। र्याप शैलीको उक्त गीतमा गायक तथा र्यापर कुशल पोखरेलको शब्द, संगीत तथा स्वर रहेको छ। कन्सर्टमा पोखरेलले उक्त गीत प्रत्यक्ष गाएर सुनाएका थिए।

हजारौं दर्शकको उपस्थिति रहेको उक्त कन्सर्टमा चलचित्रका मुख्य कलाकार तथा निर्माता आना शर्मासहित समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकीलगायतका कलाकारले आ-आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा महेश काफ्ले लगायतले गायन प्रस्तुति दिँदा आना शर्माले नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन्।

चलचित्रकी निर्देशक सुदिप्ताले प्रदर्शन मिति नजिकिएसँगै प्रचारलाई तीव्रता दिइएको जानकारी दिइन्। उनले सामाजिक सञ्जालभन्दा कन्सर्टमार्फत दर्शकमाझ पुग्दा प्रचार बढी प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। निर्माण पक्षका अनुसार बुटवलपछि अब विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि यस्तै कन्सर्ट आयोजना गरिनेछ।

निर्माण र कलाकार पक्ष

यस चलचित्रमार्फत अभिनेत्री आना शर्मा निर्माताका रूपमा पनि जोडिएकी छन्। चलचित्रमा आनाका साथै समीर श्रेष्ठ, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामोलगायतका कलाकारको अभिनय रहेको छ।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रमा सागर लम्साल निर्माता र सुवास कोइराला सह-निर्माता रहेका छन् भने आर.पी. प्रोडक्सन एसोसिएट रहेको छ।

फिल्मको संगीत पक्षमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल जोडिएका छन्। शिशिर विषंखेको छायांकन रहेको चलचित्रलाई सुनील सिवाकोटीले सम्पादन गरेका हुन् भने कोरियोग्राफी कृतिका बरालको छ।

फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले जिम्मा लिएको छ।

माघ ५, २०८२ सोमबार १४:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।