चुनावको मुखमा राजीनामाको लहर : मन्त्री गुप्ता र सांसद अन्सारी रास्वपातिर, सतिश र हर्कको आफ्नै पार्टी
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयनको अन्तिम मिति नजिकिएसँगै देशको राजनीतिमा ‘राजीनामा र दल बदल’ को लहर चलेको छ।
टिकट सुनिश्चित गर्न र नयाँ राजनीतिक समीकरण बनाउन बहालवाला मन्त्री, पूर्वमुख्यमन्त्री, निवर्तमान सभामुख, प्रदेश सांसदहरूदेखि पालिकाका प्रमुखहरूसम्मले धमाधम पदबाट राजीनामा दिन थालेका छन्।
विशेषगरी मधेश प्रदेश र संघीय सरकारका महत्त्वपूर्ण पदमा रहेका व्यक्तिहरूले राजीनामा घोषणा गर्दै चुनावी मैदानमा उत्रिने तयारी गरेका हुन्।
बालेन र हर्कले छाडे पालिका
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उदाएका देशका दुई चर्चित मेयरहरू बालेन शाह र हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनीहरूले सोमबार पदत्याग गरेका हुन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्। उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको भूमिकामा सक्रिय भइसकेका छन्।
उता, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि संघीय सांसदको चुनाव लड्न उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष राजीनामा पेश गरेका छन्। पालिकाको नेतृत्व छाडेर आफ्नै श्रम संस्कृति पार्टीबाट संघीय निर्वाचनमा होमिनका लागि कार्यकाल पूरा नगर्दै उनीहरूले एकै समयमा राजीनामा दिएका हुन्।
खेलकुदमन्त्री गुप्ताको राजीनामा
संघीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। सुशीला कार्की नेतृत्वको सरकारमा जेनजीको प्रतिनिधिको रूपमा सहभागी भएका गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारीमा छन्।
उम्मेदवारी दर्ता गर्नुअघि नै नैतिकताको आधारमा उनले पदत्याग गरेका हुन्। मन्त्री गुप्ताले भने, ‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ, अब प्रक्रिया मिलाउन मात्र बाँकी छ।’
राजीनामा स्वीकृत नहुँदै उनी रास्वपाको चुनावी अभियानमा होमिएका छन्। आज जनकपुरमा आयोजना हुन लागेको रास्वपाको कार्यक्रममा सहभागी हुन उनी बिहानैदेखि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै देखिएका छन्। बालेन युवा पुस्तामाझ लोकप्रिय मानिन्छन्।
मधेशका पूर्वमुख्यमन्त्रीले छाडे जनमत पार्टी
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेश सभा सदस्य र जनमत पार्टीको साधारण सदस्य दुवैबाट राजीनामा दिएका छन्। सिंहले आज विधिवत रूपमा राजीनामा बुझाउँदै जनमत पार्टीसँगको सम्बन्ध तोडेको घोषणा गरे।
सिंहले भने, ‘आज विधिवत रूपमा प्रदेश सभा सदस्यबाट राजीनामा दिएँ। साथै, जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु।’
उनी अब आफ्नै पारिवारिक नेतृत्वमा दर्ता भएको ‘स्वाभिमान पार्टी’ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन्। उनका दाजु सत्यवानकुमार सिंहको नेतृत्वमा दर्ता भएको सोही पार्टीबाट उनी चुनावी मैदानमा उत्रिन लागेका हुन्।
२०७९ को निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट निर्वाचित सिंह छोटो समयमै मधेशको मुख्यमन्त्री बनेका थिए। तर, ‘जेनजी आन्दोलन’ का क्रममा पार्टी अध्यक्ष डा. सीके राउतको दबाबमा फेसबुकमार्फत राजीनामा दिएको र पछि कुरा फेरेको विषयले उनी विवादमा तानिएका थिए।
अन्ततः पार्टीले समर्थन फिर्ता लिएपछि उनी पदमुक्त भएका थिए। त्यसयता पार्टीसँग उनको सम्बन्ध चिसिएको थियो। सिंह २०७४ मा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष समेत थिए।
प्रदेश सांसद रहबर अन्सारी रास्वपामा
मधेश प्रदेशका तत्कालीन माओवादी केन्द्रबाट सांसद बनेका रहबर अन्सारीले पनि पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।
अन्सारीले केही दिनअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका छन् र उनी बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीमा छन्।
अन्सारीले राजीनामा दिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘माओवादी केन्द्रका पूर्वअध्यक्ष’ भन्दै ब्यङ्ग्यात्मक सम्बोधन गरेका थिए।
उनले आफ्नो राजीनामा पत्रको बोधार्थ जनयुद्धका सहिद परिवार, परिवर्तनको नाममा सत्ता र सुविधा भोग्ने अवसरवादीहरू र वास्तविक सहिदहरूलाई दिएर असन्तुष्टि पोखेका छन्।
सभामुख रामचन्द्र मण्डलको राजीनामा
मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डलले पनि प्रदेश सांसद पदबाट राजीनामा दिएका छन्। उनले सभामुखसमक्ष राजीनामा पत्र बुझाएर प्रदेश सांसदबाट राजीनामा दिएका हुन्।
एमालेका केन्द्रीय सदस्य समेत रहेका मण्डल आगामी निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दैछन्।
सभामुखजस्तो गरिमामय पदमा बसेर दलको राजनीति गर्न नमिल्ने र चुनाव लड्न पद खाली गर्नुपर्ने कानुनी प्रावधान अनुसार उनले राजीनामा दिएका हुन्।
यज्ञजित शाहले छोडे एमाले
रुपन्देहीमा पनि चुनावी असन्तुष्टिका कारण राजीनामा आएको छ। पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा एवं पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ बाट टिकटको आकांक्षी रहेका शाहले पार्टीले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट हुँदै राजीनामा दिएका हुन्।
शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै एमालेमा अवसरवादीहरूको हालीमुहाली रहेको र त्यहाँ बस्नुको औचित्य नरहेको बताएका छन्।
नौ वर्षअघि ओली र विष्णु पौडेलसँगको भेटपछि एमाले प्रवेश गरेका शाहले पार्टीमा कुनै ठोस जिम्मेवारी र अवसर नपाएको गुनासो गरेका छन्। उनी २०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन्।
माघ ५, २०८२ सोमबार १३:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।